
काठमाडौं, १ फागुन — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले दक्षिण कोरियासँग शान्तिको वातावरण कायम राख्ने बताएका छन् । उत्तर कोरियाको सरकारी एजेन्सीले यसको पुष्टि गरेको छ ।
ताजा बयानमा किमले शान्तिबहालीको कोशिश गरेकोमा दक्षिण कोरियाको प्रशंसा गरे ।
एजेन्सीका अनुसार, किमले दक्षिण कोरियाबाट फर्केका उत्तर कोरियाली प्रतिनिधिमण्डलले तयार पारेको रिपोर्ट हेरेपछि यस्तो बयान दिएका हुन् ।
प्रतिनिधिमण्डलमा किमकी बहिनी किम यो–जोङ पनि संलग्न थिइन् र उनले प्योङचाङमा भइरहेको शीतकालीन ओलम्पिक समारोहमा भाग पनि लिएकी थिइन् ।
एजेन्सीको यो रिपोर्टमा उत्तर कोरियाले दक्षिणका राष्ट्रपति मून जे–इनलाई आफ्नो देश भ्रमणको निम्तो दिएको विषय पनि उल्लेख छैन ।
ओलम्पिक खेलको आरम्भ भएको भोलिपल्टै उत्तरले दक्षिणका राष्ट्रपतिलाई आफ्नो देश आउने निमन्त्रण दिएको खबर आएको थियो ।
अमेरिकाले चाहिँ उत्तर कोरियासँग निकटता बढाउनु खतरनाक भएको चेतावनी दिएको छ ।
अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले उत्तर अझै आणविक कार्यक्रम जारी राखिरहेको अनि तनावका बेलामा भइरहेको शीतकालीन ओलम्पिक खेलमा दक्षिण कोरियाले उत्तरको भ्रममा नपरी सतर्कता अपनाउनुपर्ने बताएको छ ।
शनिवार मात्र अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको प्रोपागान्डालाई अमेरिकाले विश्वस्तरमा सफल हुन नदिने बताएको छ ।
बीबीसी हिन्दीबाट