०१ असार २०८३, सोमबार

प्रमुख समाचार : ओली–प्रचण्डबीच ‘वान टु वान वार्ता’, राजीनामा दिने तयारीमा देउवा

प्रमुख समाचार : ओली–प्रचण्डबीच ‘वान टु वान वार्ता’, राजीनामा दिने तयारीमा देउवा

काठमाडौं, २ फागुन–  पार्टी एकता निर्णायक मोडमा पुगेको भनिएको बेला एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता भएको छ । सोमबारको बैठकबाट दुई पार्टी एकता टुंगो पुगेको  भनिएको बेला मंगलबार पनि दुई पार्टी वान टु वान वार्तामा जुटेका हुन् । 
बुधबार एकता संयोजन समितिको बैठक बोलाइएको र सो बैठकबाट माओवादी र एमालेबीचको पार्टी एकताको अन्तिम टुंगो लगाइने बताइएको छ  । 
 पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेन्डा छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षले एकताको खाकाको टुंगो लगाए पनि बैठकका एजेन्डा जानकारी नगराएको बताए । 
देउवा राजीनामाको तयारीमा 
नयाँ सरकार गठनको तयारी हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।
 निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले जनाए । 

आयोगले बुधबार प्रतिनिधिसभामा निर्वा्चित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने छ । राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा छन् । यसबारे उनले पार्टीका केही नेता तथा मन्त्रीसँग मंगलबार राति बालुवाटारमा छलफल गरेका थिए ।
जनयुद्ध दिवस
३  माओवादीले मंगलबार छुट्टाछुट्टै रुपमा २३ औं जनयुद्ध दिवस मनाएका छन् ।  
 नेकपा माओवादी केन्द्रले पेरिसडाँडा र  नेकपा र  नेकपा क्रान्तिकारी माओवादीले राष्ट्रियसभा गृहमा  जनयुद्ध दिवस मनाएका हुन् । 
तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ बाट १०  वर्ष लामो जनयुद्ध गरेको थियो । 
सेना दिवस र शिवरात्रि
मंगलबार सेना दिवस मनाइएको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा आज साँझ सैनिक मञ्च टँुडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सरिक भइन् । 

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, प्रधानसेनापति राजेन्द्र छत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायत उपस्थित थिए । 

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा नेपाल आएका  भारतीय सेनाध्यक्ष विपीन रावत पनि सहभागी थिए । 
 
सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो । सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए । 
यसैबीच मंगलबार नै  भगवान शिवको पूजाआराधना गरी शिवरात्रि पर्व मनाइएको छ  । 

विमानस्थल नजिक आगलागी 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा  मंगलबार साँझ आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । 

आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । 
प्रवक्ता ठाकुरका अनुसार आगलागीको यकिन कारण पत्ता नलागे पनि पशुपति क्षेत्र नजिकै भएको र शिवरात्रिको पर्व परेकाले लागुऔषध दुव्र्यसनीकर्ताका कारण आगलागी हुनसक्ने अनुमान गरिएको छ । 
मुख्यमन्त्रीको शपथ फागुन ४ गते

प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण यही फागुन ४ गते शुक्रबार हुने भएको छ । 

यसअघि बुधबार फागुन २ गते बुधबारका लागि शपथग्रहणको मिति तय गरिएकामा प्राविधिक कारणवश उक्त मिति हेरफेर भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए। 

उनका  अनुसार फागुन ४ गते बिहान ९ः३० बजे पोखरास्थित प्रदेश प्रमुखको सरकारी निवासमा मुख्य मन्त्रीको शपथ ग्रहण हुनेछ । प्रदेश नं ४ का नेकपा (एमाले)का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । 

यादव प्रदेश २ को सभामुख
प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । 

संसद् सचिवालयका सचिव वंशीराज पौडेलले सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएको बताए । 

यादव सभामुखमा निर्वा्चित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ । 

निगमका थप दुई विमान काठमाडौँमा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको छ । 

चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान आज त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

चीनको हर्बिन शहरबाट उडेका दुई विमान बंगलादेशको ढाका हँुदै दिउँसो काठमाडाँै आइपुगेको निगमका प्रवक्ता रिवन्द्र श्रेष्ठले जानकारी दिए । 

एनसेल टावरमा आगजनी
विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ । 
साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । 

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ ।

बाघले बच्चा खायो
सूर्यबिनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । 

सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ । 

पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।

बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेको आशंका गरी खोज्दा बाघले जंगलमा बालक खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीको भनाइ छ । शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ । बाघले बालक खाएको घटनापछि साँझ बिहान हिँड्न स्थानीयवासी भयभीत भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्