
काठमाडौं, २ फागुन — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि महंगो उपहार लिएको र भ्रष्टाचार गरेको आरोप लागेको छ । इजरायलको प्रहरीले लामो अनुसन्धानपछि उनीविरुद्ध भ्रष्टाचारका दुईवटा मुद्दा चलाउन सिफारिश गरेको छ ।
नेतान्याहुले यसअघि आफ्नो सफाइ दिँदै आफूले कुनै गल्ती नगरेको अनि राजीनामा नदिने बताएका थिए । तर उनको ताजा प्रतिक्रिया भने आइसकेको छैन ।
नेतान्याहु विगत १२ वर्षदेखि इजरायलका प्रधानमन्त्री छन् ।
समाचार संस्थाहरूका अनुसार, भ्रष्टाचारको आरोपमा प्रधानमन्त्री नेतान्याहुमाथि कस्तो कारबाही गर्ने भन्ने विषयमा मआन्यायाधिवक्तालाई निर्णय गर्ने छुट दिइएको छ । यसका लागि केही हप्तादेखि केही महीनाको समय लाग्ने बताइएको छ ।
प्रहरीले नेतान्याहुका वकिललाई प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारसम्बन्धी दुईवटा मुद्दा चलाउने सिफारिशको जानकारी दिइसकेको बताइएको छ ।
इजरायलमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले यस्तो आरोप लाग्दा राजीनामा दिएका छैनन् ।
नेतान्याहुले महंगा उपहार लिएको र केही सम्झौताहरूमा गडबडी गरेको शंका प्रहरीले गरेको छ । विगत केही महीनादेखि यसको अनुसन्धान भइरहेको थियो ।
हलिउड निर्माता आर्नोन मिल्सन र अस्ट्रेलियाका अर्बपति जेम्स पास्कलसमेत अनेकौं धनीहरूबाट नेतान्याहुले उपहार लिएको बताइएको छ । प्रधानमन्त्रीपत्नीले गुलाफी स्याम्पेन लिएको आरोप पनि छ ।
अनि प्रधानमन्त्रीले इजरायली पत्रिका येदिअत अहरोनोतलाई आफ्नो पक्षमा समाचार लेख्न गोप्य सम्झौता पनि गरेको खबर छ ।
एजेन्सी