काठमाडौं, २ फागुन — भारतको झारखण्डका मनोहर नायकले हराएकी पत्नीको खोजमा जीवन नै दाउमा राखेका छन् । उनले श्रीमती खोज्नका लागि लगातार २४ दिन साइकल चलाए ।
चौबीस दिनसम्म एकपछि अर्को गाउँ घुम्दै ६०० किलोमिटर साइकल चलाएपछि बल्ल उनकी हराएकी पत्नी फेला परिन् ।
झारखण्डको बालिगोडा गाउँका मनोहरकी पत्नी माघे संक्रान्तिको उपलक्ष्यमा माइत गएकी थिइन् । उनी त्यहीँबाट हराइन् ।
मनोहरले भने, ‘उनी दुई दिनसम्म पनि नफर्किंदा मैले प्रहरीसमक्ष उजुरी गरें ।’ प्रहरीले कुनै सहायता नगरेपछि उनी आफैं पत्नीको खोजमा हिँडे ।
मनोहर भन्छन्, ‘मैले पुरानो साइकल बनाएर पत्नीलाई खोजें । कति समयमा उनी भेटिएलिन् र कहाँसम्म जानुपर्ने हो मलाई थाहा थिएन । मैले जसरी भएपनि श्रीमती खोज्नुपर्ने चाहिँ थियो ।’
मनोहरकी पत्नी अनिता अन्ततोगत्वा कोलकाताको खडगपुरमा भेटिइन् । मनोहरले स्थानीय पत्रिकाहरूमा पत्नी हराइरहेको रिपोर्ट फोटोसहित छपाएपछि मानिसहरूले प्रहरीलाई खबर गरेका थिए ।
कोलकाता प्रहरीले जमशेदपुर प्रहरीलाई खबर गरेपछि प्रहरीले तत्कालै मनोहरलाई बोलायो र दुवैजनाको आधार कार्डसहित जमशेदपुर आउन लगायो । फेब्रुअरी १० मा मनोहरले प्रहरी थानामा पत्नी भेटे अनि भोलिपल्ट उनीहरू घर
फर्किए ।
एजेन्सी