
काठमाडौं, २ फागुन — कमेडियन कपिल शर्मा लामो प्रतीक्षापछि टीभीमा फर्किने भएका छन् । उनको नयाँ शोको प्रोमो रिलिज भइसकेको छ ।
शोको नाम पनि नयाँ छ । आफ्नो इन्स्टाग्राम अकाउन्टमा कपिलले तस्वीरसहित नयाँ शो फ्यामिली टाइम विथ कपिल शर्माको घोषणा गरेका छन् ।
अघिल्लोपल्ट उनको शोको नाम द कपिल शर्मा शो थियो । कपिलले तस्वीरमा सन्देश लेखेर फ्यानहरूसँग आशीर्वाद पनि मागेका छन् ।
कपिल ६ महीनाको ब्रेकपछि टीभीमा आउन लागेका हुन् । रक्तचापको समस्या, क्रोध र डिप्रेसनका कारण कपिलले कमेडी शोलाई बन्द गर्नुपरेको थियो । नशाको लत छुटाउनका लागि कपिल बेंगलुरुको एक पुनःस्थापना केन्द्र पनि पुगेका थिए ।
पछि उनको दोस्रो फिल्म फिरंगी आयो र सुपरफ्लप भयो । नयाँ प्रोमोमा कपिल रिल्याक्स्ड मूडमा देखिँदैछन् ।
कपिलको नयाँ शोको फर्म्याट कस्तो हुनेछ र उनीसँग कुन कुन कलाकार देखिनेछन् भन्ने केही थाहा हुन सकेको छैन ।
एजेन्सी