
काठमाडौं, २ फागुन– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास स्वरुप बसेको कार्यदलको बैठक सकिएको छ ।
ललितपुरको एक घरमा बुधबार राती अबेरसम्म बसेको बैठकमा दुई पार्टीबीच सांगठनिक र पार्टीको नीतिबारे कुरा नमिलेपछि फेरि छलफलमा बसेर टुंगो लगाउने गरी सकिएको हो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक निकै सकारात्मक भएको भन्दै सांगठनिक व्यवस्थापन र पार्टीको नीतिबारे निर्णय गर्न दुई कार्यदल बनाइएको जानकारी दिए ।
उनले भोलि पुन एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको पनि जानकारी दिए ।
यस्तै एमाले उपाध्यक्ष भीम रावलले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउन बाँकी रहेको भन्दै कार्यदलमा छलफल गरेर निश्कर्षमा पुगिने बताए ।
यस्तै उनले दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भइरहेको बताए ।
केपी ओली र प्रचण्ड नै अध्यक्ष रहने र प्रधानमन्त्री पालोपालो चलाउने सहमति भएको बताइएको छ । यद्यपी यसबारे औपचारिक जानकारी दिइएको छैन।
आजै ओली र प्रचण्डबीच वान टु वार्ता भएको थियो । वार्तापछि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीमा पार्टी एकताका विषयमा छलफल समेत गरेका थिए । सोलगत्तै बसेको एकता संयोजन समितिले एकताको विषय टुंगो लगाउने अपेक्षा गरिएको भएपनि बाँकी विषय टुंग्याउन कार्यदल बनाइएको हो ।