१७ असार २०८३, बुधबार

पूर्व प्रधानपञ्चका छोरा शाही बने मुख्यमन्त्री, यस्ता छन् योजना

फागुन ४, २०७४
पूर्व प्रधानपञ्चका छोरा शाही बने मुख्यमन्त्री, यस्ता छन् योजना

सुर्खेत, ४ फागुन-प्रदेश नम्बर ६ ले मुख्यमन्त्री पाएको छ । वाम गठबन्धनको निर्णय अनुसार प्रदेश ६ मा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका छन्, यद्यपी सपथ ग्रहण भने शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महेन्द्र बहादुर शाहीले ३२ जना सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई बिहीवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

भनिन्छ, ‘हुने विरुवाको चिल्लो पात’ सानैदेखि नयाँ काम गर्न चाहने, परिवर्तनका पक्षमा, समानताका पक्षमा, अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउने नेपालको विकट बस्ति नानीकोटमा जन्मेका कुनै व्यक्ति प्रदेशको मुख्यमन्त्री होलान भनेर कमैले सोचे होलान ।

सानैमा स्थानीय विद्यालयहरुमा अध्ययन गर्ने, गाँई गोरु चराउन, घाँस काट्न खोलामा जाने तिनै महेन्द्र शाही प्रदेश ६ लाई समृद्ध बनाउने सपना सहित मुख्यमन्त्री बन्दैछन् । उनि पुर्व वप्रधानपञ्चका छोरा समेत हुन् ।

को हुन शाही ?

मुख्यमन्त्री शाहीको जन्म विसं २०३३ साल माघ १५ गते कालिकोट जिल्लाको अत्यन्तै बिकट पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८– मा जन्मेका हुन् । बाबु लालबहादुर शाही र आमा रनकौडा शाहीका सन्तानका रुपमा जन्मेका शाहीका श्रीमती चन्द्राकुमारी शाही दुई छोरी र एक छोरारहेका छन् । उनी २ बर्ष कै हुँदा उनका बुवाको देहान्त भएको थियो ।

माओवादीका युवा नेता महेन्द्रबहादुर शाही कालीकोट (ख) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । यसअघि पूर्व ऊर्जामन्त्री समेत भइसकेका शाही माओवादी केन्द्रभित्र इमान्दार छवि भएका नेताको रुपमा चिनिन्छन । 
माओवादीका पूर्व लडाकू कमान्डर रहेका शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठुलो योगदान रहेको छ । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाहीले ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । उनले माओवादी लडाईंका ठूला–ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए । 

०५२ सालको सशस्त्र जनयुद्धको सुरुदेखि नै उनी भूमिगत भएका शाहीले एसएलसीसम्म अध्ययन गरेका छन् । हाल नेकपा माओवादी केन्द्र  केन्द्रीय समिति सदस्य समेत हुन् । दुर्गम कालिकोट, त्यसमा पनि सँधै सुख्खा रहने नानिकोटमा जन्मेका उनी पूर्व प्रमुख पञ्चका छोरा हुन् । आफूलाई पढाउने शिक्षकहरुको सल्लाह अनुसार उनले वि.स. २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

 पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले । 

२०५२ सालबाटै जनयुद्धमा होमिएका उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले । कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेल्न थाले । पछि उनी कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे । उनी युद्धमोर्चामा आफैं सहभागी हुन्थे । 

नेतृत्व गर्न देखि लड्नसम्म दोहोरो भूमिकाको निर्वाह गर्ने गरेका शाहीले संसदमा पनि अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि महाअभियोग लगाएर निकै चर्चा बटुलेका थिए ।
 

राजनीतिक यात्रा
सामाजिक असमानता, अन्तर्बिरोध, समाजका टाठा–बाठाको हाली–मुहाली, जातीय बिभेद र शोषण, गरीव–निमुखामाथि गरिएको अत्याचारको विरुद्धमा उनी राजनीतिमा लागेका हुन । २०४८ सालमा नेकपा मसाल एकता केन्द्रवाट आधिकारिक रुपमा राजनीतिक यात्रा शुरु गरेका शाहीलाई प्रहरीले  २०४९ सालमा वारेन्ट जारी गरेको थियो । माओवादी सशस्त्र द्वन्द्व सुरु हुनासाथ उनी २०५२ मा भूमिगत भएर जनयुद्धमा सामेल भए । 

२०५३ सालमा मध्यमान्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश गरेका शाहीले राजनीतिक र फौजी दुबै मोर्चामा नेतृत्व सम्हाल्दै सशस्त्र युद्धमा आफ्नो उपस्थिति देखाए ।
पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै लडाईमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका शाहीले शान्ति प्रकृया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह  गरेका थिए ।

उनले सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल भएका शाहीले नेपाली सेनामा समायोजनका बेलामा  सम्मानजनक पद नपाएपछि पार्टीको मूलधारको राजनीतिमा आएका थिए ।

के छन त अबको योजना ?

गरिब प्रदेशको मुख्यमन्त्री बनेसँगै उनले प्रदेशलाई समृद्ध बनाउने प्रण गरेका छन् । तत्कालका लागि आयस्रोत नभएपनि आगामी ५ वर्षभित्र नेपालकै नमूना प्रदेशको रुपमा बनाउने उनीसँग योजना छ ।

शाहीले सबैभन्दा पहिले पर्यटन क्षेत्रमा लगानी गर्ने बताए । ‘पर्यटन व्यवसायका लागि धेरै लगानी गर्नुपर्दैन । नीजि क्षेत्रसँग सहकार्य गर्दै पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा व्यवसथापनको कार्य अघि बढाउँछौं ।’ उनले लोकान्तरसँग भने, ‘राराताल, दैलेखका धार्मीक तथा ऐतिहासिक तीर्थस्थलहरु हाम्रालागि अवसर हुन ।’

दोस्रो चरणमा विभिन्न दातृ निकायको सहयोगमा राजमार्गहरु फाराकिलो बनाउने योजना छ । शाहीले सडकमार्ग राम्रो बनाउन सके स्थानीय कृषिजन्य पदार्थले बजार पाउने र त्यसले कृषकलाई आत्मनिर्भर बनाउन सकिने उनको योजना छ ।

‘उच्च हिमाली क्षेत्रमा पाईने कोदो, फापर, सिस्नुजस्ता अर्गानिक खाद्यपदार्थको निकासीले प्रदेश समृद्ध बन्न सक्छ । मैले त्यो सम्भावना पनि देखेको छु ।’ उनले भने, ‘बन र जमिन धेरै भएको हाम्रो प्रदेशमा पशुपालन पनि फस्टाउन सक्छ ।’

उनले प्रदेश नम्बर ६ सम्भावना भएको प्रदेशको रुपमा रहेको बताए । ‘यहाँ सुनखानी, पित्तल खानी, तामाखानी छन् ।’ उनले थपे, ‘दैलेखको ग्याँस सुर्खेतको चौकुनेमा रहेको सिमेन्टको कच्चा पदार्थ मात्रै उत्खनन् र प्रयोगमा ल्याउन सक्यौं भने समृद्धि धेरै टाढाको विषय रहेन ।’

यसका साथै जलविद्यूतको पनि अत्याधिक सम्भावना भएको उनको भनाई थियो । ‘हामीले जलविद्युत उत्पादन गरेर राम्रो आर्थिक हैसियत प्राप्त गर्न सक्छौं ।’ उनी थप्छन्, ‘उत्तरतिरका तिनै नाका खोल्न सकेको खण्डमा प्रदेशको आमुल परिवर्तन हुनेमा कुनै शंका छैन ।’


 

salt training

कमेन्ट गर्नुहोस्