
काठमाडौं, ४ फागुन — अस्ट्रेलियाले न्युजील्यान्डलाई शुक्रवार सम्पन्न टी२० म्याचमा पाँच विकेटले हराउने क्रममा इतिहास बनाएको छ ।
न्युजील्यान्डको अकल्यान्डमा घरेलु टोलीले तेर्स्याएको २४४ रनको चुनौतीलाई पाँच विकेट गुमाउँदै सफलतापूर्वक पछ्याएर अस्ट्रेलियाले इतिहास रचेको हो । अन्तर्राष्ट्रिय टी२० मा यति ठूलो स्कोर सफलतापूर्वक पछ्याएको इतिहास थिएन ।
अस्ट्रेलियाले सात बल बाँकी छँदै २४५ रन बनाएर म्याच जितेको हो ।
अस्ट्रेलियालाई जीत दिलाउनका लागि ओपनर डार्सी शर्टले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमै ७६ रन बनाए । त्यसक्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै डेभिड वार्नरले २४ बलमा ५९, आरोन फिन्चले १४ बलमा नटआउट ३६ अनि ग्लेन म्याक्सवेलले १४ बलमा ३१ रन बनाए ।
म्याचमा चौका र छक्काको बर्खा नै भयो । कुल ३२ छक्का प्रहार भएको म्याचमा दुवै टोलीका तर्फबाट ४८८ रन बन्यो ।
न्युजील्यान्डका सबै बलर महंगा साबित भए । ट्रेन्ट बोल्ट, साउदी र ग्य्रान्डहोमले एक एक विकेट लिए तर त्यसका लागि थुप्रै रन खर्चनुप–यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको न्युजील्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४३ रन बनाएको थियो । ओपनिङ ब्याट्स्म्यान मार्टिन गुप्तिलले ५४ बलमा विस्फोटक शतक प्रहार गर्दै १०५ रन बनाए । उनले ६ चौका र नौ
छक्का प्रहार गरेका थिए ।
उनलाई कोलिन मुनरोले ३३ बलमा ७६ रन बनाएर साथ दिए । यी दुई ओपनरले १०.४ ओभरमा १३२ रनको साझेदारी गरेका थिए ।
पछिका ब्याट्स्म्यानहरूले ठूलो स्कोर बनाउन नसकेपनि बल फेस गरेभन्दा बढी रन बनाए ।
अस्ट्रेलियाका लागि केन रिचार्डसन र एन्ड्रु टेले दुई दुई विकेट लिए भने अगर र स्ट्यानलेकले एक एक विकेट लिए ।
विस्फोटक ब्याटिङ गरेका डार्सी शर्ट म्यान अफ द म्याच भए ।