
काठमाडौँ, ६ फागुन- गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ ।
कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको आैँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए । हातै नचल्ने अवस्था भएपछि कार्कीलाई काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरेर अप्रेसन गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन ढिलाइ गरेको भए कार्कीको हात नै काट्नुपर्ने अवस्था आउने थियो ।
काकासँग बस्दै आएका कार्की हजुरआमा बिरामी भएपछि स्कुल नगई घरमै बसेका थिए । १८ माघमा स्कुल गएका उनलाई शिक्षकले कुटपिट गरेको विद्यार्थी र अभिभावकले बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।
विद्यार्थी कार्कीका आफन्तले कुटपिट गर्ने शिक्षक तिमल्सिनालाई कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका थिए । कालीमाटीले गोरखा प्रहरीलाई कारबाहीका लागि जानकारी गराएको छ । आरुघाट गाउँपालिका मान्बुका प्रहरी हवल्दार टोपबहादुर थापाले शिक्षकले कुटपिट गरेको बताउँदै विद्यालय खर्च बेहोर्न सहमत भएको बताए । उनका अनुसार शिक्षकले विद्यार्थीको पाता (ढाड) मा हान्दा हातले रोक्न खोजेको र त्यही बेला औँलामा लागेर समस्या भएको भन्ने बुझिएको जानकारी दिए । शिक्षक काठमाडौं गएको र फर्केपछि छानबिन हुने उनले बताए ।