
काठमाडौं, ९ फागुन — पञ्जाब नेसनल बैंकमा भएको ११ हजार करोड रुपैयाँको घोटालाको अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ । यसक्रममा ठूला नामहरू आइरहेका छन् ।
यस विषयमा अनुसन्धान गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले नीरव मोदी र मेहुल चोकसीका कम्पनीहरूमा आबद्ध पाँच ठूला अधिकारीलाई पक्राउ गरिएको छ ।
फायरस्टार इन्टरनेसनलकी कविता मनकिकर र नक्षत्र–गीताञ्जली समूहका प्रमुख आर्थिक अधिकारी पनि यसमा संलग्न छन् ।
तर सबभन्दा धेरै चर्चा फायरस्टार इन्टरनेसनलका आर्थिक अध्यक्ष विपुल अम्बानीको छ । उनको थरकै कारण मानिसमा उनीप्रति चासो छ ।
विपुल खासमा मुकेश अम्बानीका काकाका छोरा हुन् । उनी धीरुभाइ अम्बानीका भाइ नट्टूभाइ अम्बानीका छोरा हुन् ।
उनी सन् २०१४ देखि फायरस्टारको आर्थिक कामकाज हेरिरहेका छन् ।
नीरव मोदीको कम्पनीमा यति ठूलो पदमा रहेका कारण अम्बानीलाई यस विषयमा धेरै जानकारी रहेको हुनसक्ने आशंका गरिएको छ ।
पक्राउ गरिएका अन्य व्यक्तिमा फायरस्टारका वरिष्ठ कार्यकारी अर्जुन पाटिल र गीताञ्जली समूहका व्यवस्थापक नितेन शाही छन् ।
यी पाँच व्यक्तिलाई सीबीआईले मंगलवार लामो केरकारपछि हिरासतमा लिएको थियो ।
ब्लूमबर्गका अनुसार, विपुल अम्बानीले रिलायन्स इन्डस्ट्रिजबाट आफ्नो करीयर शुरू गरेका थिए ।
उनले केमिकल इन्जिनियरिङमा डिग्री गरेका छन् ।
सन् २०१४ मा उनले नीरव मोदीसँग हात मिलाएर फायरस्टारको कामकारवाही हेर्न थाले ।
फायरस्टारको वेबसाइटका अनुसार, यो कम्पनीले अमेरिका, युरोप, पश्चिम एसिया, सुदूर पूर्वी एसिया र भारतमा व्यापार गर्छ । कम्पनीमा १२ सयभन्दा बढी प्रशिक्षित व्यावसायिकक कर्मचारी छन् ।
बीबीसी हिन्दीबाट