
काठमाडौं, ९ फागुन — बच्चालाई ज्वरो आउँदा थर्मामिटरलाई काखीमा वा मुखमा राखेर तापक्रम थाहा पाइन्छ । तर बच्चाहरू त्यहाँ थर्मामिटर राख्न हिचकिचाउँछन् ।
यसैलाई ध्यानमा राख्दै तापक्रम सुविधाजनक रूपमा जाँच्नका लागि स्मार्ट डिभाइस बनाइएको छ । यसलाई बच्चाको ढाडमा राखे मात्र स्मार्टफोन एपमा ज्वरोको सटीक जानकारी उपलब्ध हुन्छ ।
यो डिभाइसले समय समयमा तारिखका साथ ज्वरोसँग जोडिएको जानकारी एपमा सेभ गर्छ र आवश्यकता परेमा पारिवारिक चिकित्सकका साथ शेयर गर्छ ।
यसो हुँदा चिकित्सकलाई बच्चाको स्वास्थ्यसँग जोडिएका अतिरिक्त जानकारी प्राप्त हुन्छ र उपचारमा सहजता आउँछ ।
यो स्टेथोमी डिभाइसलाई गहन अनुसन्धानपछि पोल्यान्डको एडम मिकिवियस विश्वविद्यालयले विकसित गरेको हो । अनुसन्धानकर्ताहरूले यसबाट बच्चालाई कुनै समस्या नहुने र सजिलै बच्चालाई कति डिग्री ज्वरो छ थाहा लाग्ने दाबी गरेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार, यो पहिलो त्यस्तो डायग्नोस्टिक डिभाइसले बच्चाको श्वासप्रश्वास प्रणालीलाई जाँच्न सहायता गर्नेछ । यो डिभाइसले मशिन लर्निङमा आधारित एल्गोरिदममा काम गर्छ र रेकर्डिङबाट हजारौं
प्याटर्नहरूलाई जाँचेर एपमा जानकारी दिन्छ जसबाट तपाईंले बच्चालाई औषधि आवश्यक छ कि छैन थाहा पाउनुहुन्छ ।
बच्चाको ढाडमा यो डिभाइस राखेपछि यसले काम शुरू गर्छ र स्मार्टफोन एपमा बच्चाको मुटुको धडकन, शरीरको तापक्रम र सास फेर्दा फोक्सोको आवाजसँग जोडिएको जानकारी ग्राफमार्फत देखाउँछ र आवश्यक टिप्स दिन्छ ।
यसको उत्पादन भइरहेको र यसलाई छिट्टै उपलब्ध गराइने बताइएको छ । डिभाइसको मूल्यका बारेमा कुनै जानकारी सार्वजनिक भएको छैन ।
एजेन्सी