काठमाडौं, १० फागुन — सत्रजनाको ज्यान जाने गरी भएको फ्लोरिडा स्कूल गोलीकाण्डले अमेरिका हल्लाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले यस्ता खालका दुर्घटनाबाट बच्नका लागि अनौठो प्रस्ताव राखेका छन् ।
ट्रम्पका अनुसार, प्रशिक्षित विद्यालय शिक्षकहरूलाई विद्यालयमा हतियार लिएर आउने अनुमति दिनुपर्छ । ती शिक्षकले विद्यालयमा हुने गोलीकाण्डलाई रोक्न सक्छन् ।
विद्यालयका कर्मचारीले हतियार लुकाएर ल्याउन पाउने र गोलीकाण्ड हुँदा आक्रमणकारीलाई तत्कालै मारिदिने हिसाबामा प्रस्ताव ल्याउनका लागि आफूले विचार गरिरहेको उनले बताए ।
यो प्रस्तावले स्कूल प्रांगणमा हुने गोलीकाण्डलाई रोक्न सक्छ भन्ने ट्रम्पको भनाइ छ । उनले भने, ‘एउटा आक्रमण हुन कम्तीमा तीन मिनेट लाग्छ अनि प्रतयक्रमण गर्न पाँचदेखि आठ मिनेट लाग्छ । प्रहरी आइपुग्दासम्म सबै कुरा ध्वस्त
भइसकेको हुन्छ । विद्यालयमा प्रशिक्षित शिक्षक भए भने उनीहरूले हतियार चलाउन सक्छन् र सजिलैसँग प्रत्याक्रमण गर्न सक्छन् ।’
ट्रम्पले विगत केही वर्षयता स्कूलहरूमा भएको गोलीकाण्डका घटनामा आफ्ना सन्तान गुमाएका मातापितासँग कुरा गरे ।
उनले पीडित मातापितालाई यसता घटना रोक्नका लागि ठोस कदम चाल्ने भरोसा दिए । अनि उनले यस्ता घटना रोक्नका लागि मानसिक स्थितिमा सुधारका लागि पनि प्रयासहरू गर्ने बताए ।
खतरनाक व्यवहार देखाउने वा मानसिक रूपमा रोगी मानिसहरूमाथि कडा नजर राख्न पनि ट्रम्पले सल्लाह दिए ।
एजेन्सी