
काठमाडौं, ११ फागुन– नेकपा एमाले र माओवादी केन्द्रबीच केन्द्रमा मन्त्रालयको संख्या १८ बनाउने सहमति भएको छ । यसअघि रहेका मन्त्रालय एक आपसमा गाभेर मन्त्रालयको संख्या १८ मा सीमित राख्न एमाले र माओवादी केन्द्रबीच सहमति भएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
प्रशासन सुधार आयोगको प्रतिवेदनका आधारमा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको संख्या १५ बनाउन प्रस्ताव गरेको थियो । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल चुस्त बनाउने सहमति भएको हो ।
राष्ट्रिय योजना आयोग खारेज गरेर अर्थ मन्त्रालयमा गाभ्न प्रस्ताव गरिएको छ भने पर्यटन मन्त्रालयलाई उद्योग मन्त्रालयमा गाभ्न प्रस्ताव गरिएको छ । कृषि मन्त्रालयमा खाद्य सुरक्षा थप्न प्रस्ताव गरिएको छ । वातावरण मन्त्रालयमा जलवायु परिवर्तन र महिला बालकालिका मन्त्रालयमा जेष्ठ नागरिक थप गर्न लागिएको छ । शुक्रवार बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या र नामबारे निर्णय गर्नेछ ।
मन्त्रालय बाँडफाँटमा प्रारम्भिक समझदारी– एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँटमा प्रारम्भिक समझदारी भएको छ । दुई दलबीचको छलफलमा एमालेले अर्थ र परराष्ट्रसहित १० र माओवादी केन्द्रले गृह र ऊर्जासहित ७ मन्त्रालय लिने प्रारम्भिक समझदारी बनेको हो । छलफल जारी रहेकाले यसमा हेरफेर हुनसक्ने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको एक्लाएक्लै छलफलमा मन्त्रालय बाँडफाँटमा प्रारम्भिक समझदारी भए पनि दुवै पार्टीमा आन्तरिक छलफलपछि मात्र टुंगो लाग्ने बताइएको छ ।
मन्त्रालय भागवण्डामा कुरा मिलेपछि एमाले र माओवादी कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफलमा व्यस्त बनेका छन् । माओवादी केन्द्रले मन्त्री छान्ने जिम्म अध्यक्षसहित तीन नेतालाई दिएको छ भने एमालेले आज स्थायी समितिको बैठक डाकेको छ । तर, दुई दलभित्र मन्त्रालयको नेतृत्व कस्ले गर्ने भन्नेमा हानथाप भने कायमै छ । यसका कारण नाम चयन गर्न कठिन भएको छ ।
मन्त्री छान्ने जिम्मा तीन नेतालाई– नेकपा माओवादी केन्द्रले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ । खुमलटारस्थित पार्टी अध्यक्ष प्रचण्डको निवासमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सो जिम्मा दिने निर्णय गरेको हो ।
कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा उनीहरुले नै निर्णय गर्ने छन् । बैठकमा यही फागुन ७ गते एमालेसँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो ।
एमाले बैठक– पार्टी एकता र सरकार विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दुई पार्टीका सदस्य रहेको कार्यदलको जिम्मेवारी र सरकार सञ्चालनका विषयमा बैठकमा छलफल हुनेछ ।
सङ्घीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउने विषयमा छलफल जारी रहे पनि संविधान संशोधनमा फोरमले राखेको शर्तका बारेमा आफूहरूबीच मतैक्य भई नसकेको उनले जानकारी दिए ।
राष्ट्रपतिको निर्वाचन फागुन २९ गते- निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । आयोगको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो ।
निर्वाचन कार्यक्रम अनुसार २९ फागुन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदानको समय तोकिएको छ । निर्वाचनका लागि फागुन २३ गते मनोनयन दर्ता गर्ने र २४ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
कार्यदललाई निर्देशन- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि दस्तावेज तयार पार्न बनेको राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदललाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन समय तोकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा बसेको संयुक्त कार्यदलको बैठकमा दुवै अध्यक्षले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिए ।
बैठकमा संगठन, अन्तरिम विधान र एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पार्न एमाले नेता माधव नेपाल र ईश्वर पोखरेलको संयोजकत्वमा दुईवटा कार्यदल गठन भएको छ ।
दुर्घटना ४ को मृत्यु– दैलेखमा बिहीबार जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अरु पाँचजना गम्भीर घाइते छन् । मृत्यु हुनेमा प्रवण शाही, निर्मला पाण्डे विष्ट, तिलक ढकाल र निर्मला सिंह रहेका छन् । दैलेख सदरमुकामबाट दैलेखकै महाबु गाउँपालिका जाँदै गरेको लु १ ज ३५३२ नम्बरको बोलेरो जिप महाबु गाउँपालिका–१ ओखलढुंगा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
मुख्यमन्त्रीले पाए विश्वासको मत– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको विश्वासको मत पाएका छन् । संघीय समाजवादी फोरमबाट राष्ट्रिय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका राउतले वाम गठबन्धनको समेत समर्थन रह्यो । प्रदेशसभाको बिहीबारको बैठकमा सरकारको पक्षमा ८२ मत परेको छ भने विपक्षमा १८ मत खसेको छ ।
निरौलालाई ७ र दासलाई छ वर्ष कैद– विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ । भ्रष्टाचारको मुद्दामा यस्तो फैसला आएको हो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख ५९ हजार ७०० बिगो तिराउने फैसला गरेको छ ।
त्यसैगरी दासलाई छ वर्ष कैद, रु ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई रु २४ लाख ३७ हजार ४१५ बिगो तिराउने तथा खनाललाई रु एक लाख ५४ हजार २२४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला भएको छ ।
सर्वोच्चको आदेश– सर्वोच्च अदालतले सवारी साधनमा अंग्रेजी इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । सामाजिक अभियान्ता भरत बस्नेतको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
यसैबीच, प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पेश भएको अदालतको अवहेलना सम्बन्धी मुद्दा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ । डाक्टर गोविन्द केसीको मुद्दा मिलाउन वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीशबाट अदालतको अवहेलना भएको भन्दै मनोज कुमार अधिकारीले केहिसमयदेखि सर्वोच्च अदालतमा पेश गरिरहेको निवेदन प्रशासनले बिहीबार दरपीठ गरेको हो ।
खेल खबर– मकवानपुरमा जारी हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । हेटौँडामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले जित दर्ता गरेसँगै यी दुई टिमबीचको उपाधि भिडन्त पक्का भएको हो ।
पुलिसले संकटा क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । उसका लागि दिनेश राजवंशी र नीरकुमार राईले एक÷एक गोल गरे ।