
काठमाडौं, ११ फागुन– सिरियाको संघर्षका विषयमा निर्णय लिन बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन भएको छ । रुसको अडानका कारण बैठक निष्कर्षविहीन भएको बताइएको छ ।
बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित हुन सकेन । युद्धविराम सम्बन्धमा स्वीडेन र कुबेतका तर्फबाट पनि एउटा प्रस्ताव पेश भएको थियो । तर रुसले यो प्रस्तावमा संशोधन गर्नुपर्ने जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि वेस्ली नेबेनज्याले पेश भएको प्रस्ताव संघर्ष रोक्ने वास्तविक उद्देश्यले आएको हुनुपर्ने बताए । उनले युद्धविरामका लागि निकै चुनौती रहेको भन्दै निर्णयका लागिमात्र निर्णय गर्न नसकिने बताए ।
सिरियाली सरकारले विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा पछिल्ला पाँच दिनदेखि लगातार बमबारी जारी राखेको छ । बमबारीमा परेर अहिलेसम्म ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघले गुटामा ३ लाख ९३ हजार मानिस फसेको जनाएको छ ।