०८ असार २०८३, सोमबार

सेशल्सको काँधमा बन्दुक राखेर चीनलाई ताक्दैछ भारत

फागुन ११, २०७४
सेशल्सको काँधमा बन्दुक राखेर चीनलाई ताक्दैछ भारत

काठमाडौं, ११ फागुन — एसियाका दुई ठूला मुलुक भारत र चीन एकअर्कालाई सन्देहको दृष्टिले हेर्छन् । 

जनसंख्याको हिसाबमा उनीहरू संसारका सबभन्दा ठूला दुई देश हुन् र ठूला अर्थतन्त्र पनि हुन् ।

दुवै देशले सीमा, सन्धिहरू तथा प्राकृतिक संसाधन साझा गर्छन् । तर यति हुँदाहुँदै पनि भारत र चीनको सम्बन्ध जटिल अनि कहिलेकाहीँ त वैमनस्यले भरिएको छ । 

लगभग आधी शताब्दीदेखि दुवै मुलुकबीचको सीमा विवादले द्विपक्षीय सम्बन्धमा बाधा तेर्स्याएको छ । 

दुई देशका बीच अक्साई चीन र अरुणाचल प्रदेशसमेत केही अन्य क्षेत्रका विषयमा विवाद छ र यो विवाद युद्धमा समेत परिणत भएको छ । 

तर हालैका वर्षमा दुवै देशको कूटनीतिक तथा आर्थिक सम्बन्धले उनीहरूबीचको तनावलाई निकै हदसम्म घटाउन प्रमुख भूमिका निर्वाह गरेको छ । 

विगत केही वर्षयता भारत र चीनबीच अर्को एक रणनीतिक क्षेत्रका विषयमा तनाव छ ः त्यो हो हिन्द महासागर ।

क्यानडाको म्याकगिल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक टीभी पलका अनुसार, चीन परम्परागत रूपमा दक्षिण चीन सागर समेत प्रशान्त महासागरलाई आफ्नो ब्याकयार्डका रूपमा हेर्छ भने दक्षिण एसिया र हिन्द महासागरलाई भारत आफ्नो विशेष क्षेत्र मान्छ । 

भारत–चीन सम्बन्धमा नजर राख्ने जानकारहरूले दुवै देशको शक्ति बढ्दै जाँदा आ–आफ्नो इलाकामा प्रभाव जनाउने विषयमा उनीहरूको विचार पनि बदलिएको विचार व्यक्त गरेका छन् । 

प्राध्यापक पल भन्छन्, ‘अहिले त चीन हिन्द महासागरमा आउन थालेको स्थिति छ । भारत चाहिँ हिन्द महासागरमा आफ्नो पकड बलियो बनाउनुका साथै प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति जनाउन चाहन्छ । उसले उक्त क्षेत्रका अन्य
देशसँग सम्बन्ध बलियो बनाइरहेको छ । जलसेनाको स्थिति पनि उसले बढाइरहेको छ ।’

तर भारतका लागि हिन्द महासागरको महत्त्व छ । उक्त महासागरमा उसको ७५ सय किलोमिटर लामो सीमा छ । 

भारतको जहाज मन्त्रालयका अनुसार, उसको ९५ प्रतिशत व्यापार हिन्द महासागरको बाटो भएर हुन्छ । 

तर हालैका दिनमा चीनले हिन्द महासागरमा रुचि देखाउन थाल्दा भारतको चिन्ता बढेको छ । 

सन् २०१३ मा चीनले रेशम मार्ग परियोजना घोषणा ग–यो । यसअन्तर्गत चीनले पाकिस्तान भएर समुद्री बाटो घटाउन खोजेको छ । 

प्राध्यापक पल भन्छन्, ‘यो मार्गबाट चीनले इरानको खाडी र पश्चिम एसियाका देशसम्म सीधा पहुँच पाउँछ । विगतमा यी देशहरूको झुकाव भारतप्रति धेरै थियो । तर अहिले अफ्रिका, दक्षिण एसिया र मध्य एसियामा चीनको प्रभाव
बढ्दैछ । 

तीन वर्षअघि चीनले विदेशमा आफ्नो पहिलो सैनिक अड्डा बा अल–मनदाब जलडमरुमध्यनजिक जिबूतीमा स्थापित ग–यो । 

जलमार्गको आँकडामाथि नजर राख्ने वेबसाइट मरीन ट्राफिकका अनुसार, यो अतिव्यस्त जलमार्ग हो । 

चीनको बढ्दो उपस्थितिका कारण चिन्तित भारतको प्रतिक्रिया दुई दिशातर्फ देखिएको छ । पल भन्छन्, ‘एकातर्फ भारत प्रशान्त क्षेत्रमा आफ्नो शक्ति बढाउन खोज्दैछ । अर्कातर्फ ऊ हिन्द महासागरमा पनि स्थिति बलियो बनाउन
खोज्दैछ ।’

यसै क्रममा भारतले सेशल्समा सैनिक अड्डा स्थापित गर्नका लागि कुराकानी गरिरहेको छ । 

पलका अनुसार यो सम्झौताको कमै जानकारी मात्र बाहिर आएको छ । तर हिन्द महासागरमा चीनको दखल बढ्दै जाँदा भारतले यो कदम उठाएको स्पष्ट छ । 

सेशल्समा भारतीय सेनाले सन् २०१४ देखि नै समुद्री क्षेत्रको निगरानी गर्दै आएको छ । सन् २०१६ मा उसले त्यहाँ राडार निगरानी प्रणाली लगाएको थियो । 

तर सेशल्समा भारतको सैनिक अड्डाका विषयमा धेरै उत्साह छैन । सेशल्स दक्षिण एसियाका पर्यटकहरूको प्रिय स्थान हो र सेशल्सको समाचार संस्थाले त्यहाँका मानिस सैनिक अड्डाको विरोधमा रहेको लेखेको छ । त्यसले देशको स्थिरतालाई आघात गर्ने उनीहरू ठान्छन् । 

त्यसो त भारत र सेशल्सबीचको सन्धि सार्वजनिक रूपमा उपलब्ध छैन तर भारतले सेशल्समा सैन्य अड्डा स्थापित गर्ने अनुमति भने पाएको छ । 

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्