
काठमाडौं, ११ फागुन — साउदी अरबमा केही समयअघि मनोरञ्जन उद्योग छँदै थिएन ।
तर अब साउदीले आगामी दशकमा मनोरञ्जन उद्योग विकासका लागि ६४ अर्ब डलर लगानी गर्ने भएको छ ।
साउदीको जनरल एन्टरटेनमेन्ट अथोरिटी प्रमुखले यही वर्ष मात्र पाँच हजारवटा समारोह आयोजित गर्ने बताए ।
रियादमा पहिलो ओपेरा हाउस निर्माणको काम आरम्भ गरिएको छ । यो लगानी साउदीको आर्थिक र सामाजिक सुधार कार्यक्रमको एक अंग हो ।
दुई वर्षअघि युवराज मोहम्मद बिन सलमानले देशको आर्थिक र सामाजिक सुधार कार्यक्रमको खाका प्रस्तुत गर्दै भिजन २०३० दस्तावेज जारी गरेका थिए । बत्तीस वर्षीय युवराज साउदी अरबको तेलप्रति निर्भरता कम होस् भन्ने चाहन्छन् ।
यसअन्तर्गत मानिसलाई सांस्कृतिक क्रियाकलाप र मनोरञ्जनमाथि खर्च गर्नका लागि प्रेरित गरिनेछ । गत वर्षको डिसेम्बरमा सरकारले सिनेमामाथिको रोक हटाइदिएको थियो ।
जेनरल एन्टरटेनमेन्ट अथोरिटीका प्रमुख अहमद बिन अल–खातिबले सन् २०१८ को अन्त्यसम्ममा मनोरञ्जन क्षेत्रमा दुई लाख २० हजार मानिसलाई रोजगारी प्राप्त हुने आशा गरेका छन् ।
अल–खातिबले भने, ‘विगतमा लगानीकर्ताहरूले साउदी अरबबाहिर गएर काम गर्नुपर्थ्यो अनि फर्केर आफ्नो काम देखाउनुपर्थ्यो । अब यसमा परिवर्तन आउनेछ । मनोरञ्जनसम्बन्धी सबै काम यहीँ हुनेछ । सन् २०२० सम्ममा तपाईंले
परिवर्तन देख्न सक्नुहुनेछ ।’
रियादनजिकै लास भेगासजस्तो एक ठूलो मनोरञ्जन शहरको योजनामा पहिलेदेखि नै काम भइरहेको छ ।
बीबीसीबाट