१३ असार २०८३, शनिबार

मुख्य समाचार : राष्ट्रपति र सभामुखमा भागबण्डा मिल्यो-मन्त्री बाँकी, माओवादी थापाको नेतृत्वमा सरकारमा जाने

फागुन १२, २०७४
मुख्य समाचार : राष्ट्रपति र सभामुखमा भागबण्डा मिल्यो-मन्त्री बाँकी, माओवादी थापाको नेतृत्वमा सरकारमा जाने

काठमाडौं, १२ फागुन– नेकपा एमाले र माओवादीबीच राष्ट्रपति, उपराष्ट्रपति र सभामुख पदको भागवण्डा मिलेको छ । दुईदलबीच भएको सहमति अनुसार एमालेले राष्ट्रपति तथा माओवादीले उपराष्ट्रपति र सभामुख पद पाउने भएका छन् । 
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ठूला पदको भागवण्डा मिलेको हो । नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको नाम चर्चामा छ । 
उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै उपराष्ट्रपतिमा दोहोरिने सम्भावना छ । तर प्रचण्डले अमिक शेरचनलाई पनि आश्वासन दिएका स्रोतको दावी छ । भावी सभामुखका लागि माओवादीका कृष्णबहादुर महरा, देव गुरुङ र जयपुरी घर्तीको नाम चर्चामा छ । 


फोरमलाई सरकारमा ल्याउन पहल– वाम गठबन्धनले मधेस केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ ।
एमाले नतृत्वले बुधबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थियो उक्त छलफल निकै सकारात्मक बनेपछि मधेश केन्द्रित दलले उठाएका सवाललाई कसरी सम्बोधन गर्ने भन्नेबारे नेताहरुबीच छलफल जारी छ ।
आफ्नो मुख्य मुद्दा संविधान संशोधनको सुनिश्चितता भए सरकारमा जाने संकेत दिएको समाजवादी फोरमलाई सहभागिता गराउन सरकारले पनि लचकता अपनाई छलफल लम्ब्याएको छ । 
राजपालाई पनि सरकारमा सहभागी गराउने पहलस्वरुप अनौपचारिक छलफल भइरहेको स्वयं नेताहरु बताउँछन् । वाम गठबन्धनले आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधन गर्ने जनाउँदै आएकाले वार्ता निर्णायक हुन नसकेको बुझिएको छ ।


केन्द्रमा १८ मन्त्रालय–  सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय रहने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले १७ वटामात्र मन्त्रालय राख्ने निर्णय गरेको हो ।
सरकारले १७ वटा मन्त्रालय र एउटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहने निर्णय गरेको हो । यसअघि ३० वटा मन्त्रालय थिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा बिष्णुप्रसाद रिमाललाई नियुक्त गरेको छ । 

सचिवहरू अन्योलमा– सरकारले मन्त्रालय घटाएपछि सचिवहरु अन्योलमा परेका छन् ।
सरकारले मन्त्रालय गाभ्ने निर्णय गरे पनि गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा परेका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ कायम गरेको थियो । मन्त्रालय घटे पनि कुन मन्त्रालयमा कुन सेवा समूहका सचिव राख्ने भन्ने निक्र्योल भएको छैन।


मन्त्री छान्न सकस– सरकारमा सहभागी हुने आकांक्षी धेरै भएपछि एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ । दुवै दलले मन्त्री छनोट गर्ने जिम्मा शीर्ष नेतालाई दिएका छन् । 
मन्त्रीका आकांक्षी धेरै भएपछि शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । उनले शीर्ष नेताहरुसँग परामर्शका आधारमा मन्त्री छान्ने जिम्मा पाएका हुन् । 
उता मन्त्री छनोट गर्ने विषयमा माओवादी केन्द्रमा पनि उस्तै समस्या देखिएको छ । माओवादी हेडक्वाटर बैठकबाट अख्तियारी पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराण्यणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच शुक्रबार मन्त्रीका विषयमा छलफल भएपनि टुंगो लाग्न सकेन । तर राजधानीमा पत्रकारसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रीको नाम करिब–करिब टुंग्याएको र आइतबार सबै मन्त्रीले पद तथा गोपनियताको शपथ लिने बताएका छन् । 


थापाको नेतृत्वमा माओवादी सरकारमा- नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । रफत् सञ्चार क्लबले शुक्रबार भक्तपुरमा गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने खुलासा गरे । 
उनले भने, “सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको छ, जनअपेक्षा र समयको मागअनुसार संविधान संशोधनसमेत गरेर अगाडि बढ्न सकिन्छ ।”


सर्वोच्चमा रिट दायर– अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तीन जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले सर्वोच्चमा रिट दायर गरेका हुन् । 
वर्तमान सरकारले आफूहरुलाई विस्थापित गरी अन्य ३ जनालाई मनोनयनको लागि सिफारिस गरेपछि पहिलाकै सरकारले गरेको सिफारिस कार्यन्वयनको माग गर्दै उनीहरुले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । 


एमालेको निर्देशन– नेकपा एमालेले तत्कालका लागि अधिवेशन र सम्मेलनहरु नगर्न जनवर्गीय संगठनहरुलाई निर्देशन दिएको छ । एमाले स्थायी कमिटी बैठकले माओवादी केन्द्रसँग पार्टी एकताको तयारी भइरहेको भन्दै जनवर्गीय संगठनहरुको अधिवेशन र सम्मेलनहरु नगर्न निर्देशन दिएको हो । तर आन्तरिक भेला, प्रशिक्षणको कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए । 


प्रधानमन्त्री ओली– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई गुणस्तरीय बनाउन नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । उच्च माध्यामिक विद्यालय संघ हिसानले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने भन्दै विश्वका अन्य मुलुकजस्तै नेपालले पनि आर्थिक क्षेत्रमा फड्को मार्नुपर्नेमा जोड दिए । 
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई आत्मसाथ गर्दै मुलुकलाई चाँडै नै विकासको गतिमा लैजाने जनाए । 

आगलागीमा बालिकाको मृत्यु– बाजुरा जिल्लाको बडिमालीका ८ मा शुक्रबार आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । बिजुलीको तार सर्ट भएर आगलागी हुँदा अंगे थापाकी नातिनी १ वर्षिया देविका भण्डारीको मृत्यु भएको हो । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


खेलाडीलाई सम्मान– विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ । नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको भन्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरे । 

salt training

कमेन्ट गर्नुहोस्