
काठमाडौं, १२ फागुन– न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल हुनुभएको छ । कुल ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको भन्दा आधा मात्र परीक्षार्थी सफल हुनुभएको हो । ३० पदका लागि ४२४ जनाले आवेदन दिनुभएको थियो ।
तीमध्ये ३७३ जना मात्र परीक्षामा सामेल हुनुभएको थियो । पहिलोपटक समानुपातिक समावेशी रूपमा लिखित परीक्षाबाट न्यायाधीश छनोट प्रक्रिया अघि बढाइएकोमा ३० कोटाका लागि १६ जना मात्र उत्तीर्ण हुनुभएको हो । एकभन्दा बढी समूहमा परीक्षा उत्तीर्ण गर्ने १३ जना मात्र हुनुभएको छ ।
आफ्नो एकल समूहमा सफल हुने तीन जना मात्र हुनुहुन्छ । आन्तरिक खुलातर्फ मागभन्दा कम सङ्ख्या उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा १५ जना माग गरिएकोमा १३ जना मात्र उत्तीर्ण हुनुभएको छ ।
यस्तै खुलातर्फ भने आठ जनाका लागि १५ जनाले लिखित परीक्षा उत्तीर्ण गर्नुभएको छ । महिलाको दुई कोटामा एक जनाले परीक्षा उत्तीर्ण गर्नुभएको छ । आदिवासी जनजातिका दुई कोटाका लागि दुई जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गर्नुभएको छ ।
महिलाको दुई र दलितको एक कोटामा भने कुनै पनि उम्मेदवारले लिखित परीक्षा पास गर्नुभएको छैन । न्याय सेवा आयोगका सचिव नृपध्वज निरौलाले मागभन्दा आधामात्र परीक्षार्थी उत्तीर्ण भएको बताउनुभयो, गोरखापत्रमा खबर छ ।