०७ असार २०८३, आइतबार

मन्त्रिपरिषद् विस्तारको तयारी, जसको छ मन्त्री बन्ने चर्चा

फागुन १४, २०७४
मन्त्रिपरिषद् विस्तारको तयारी, जसको छ मन्त्री बन्ने चर्चा

काठमाडौं, १४ फागुन-पदभार सम्हालेको झण्डै दुई सातापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सरकारमा पठाउने मन्त्री छान्न प्रधामनन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र परामर्श गरिरहेका छन् ।

ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले सोमवार बिहानसम्म दौडधुप तीव्र पारेका छन् । प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । सोमवार एमालेका ८ र माओवादी केन्द्रका ७ जनाले शपथ लिनेछन् ।

महासचिव ईश्वर पोखरेल तथा सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई मन्त्री बन्ने निश्चित भएको एमाले स्रोतले बतायो । पोखरेल र ज्ञवालीले अर्थमा दावी गरेका छन् । पोखरेल अर्थमन्त्री बने ज्ञवाली परराष्ट्रमन्त्री बन्ने चर्चा एमाले वृत्तमा छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन उपेन्द्रलाई परराष्ट्र मन्त्री दिने कि भन्ने विषयमा पनि छलफल भएको स्रोतले बतायो ।

एमाले उपमहासचिव विष्णु पौडेलको पनि मन्त्री बन्ने चर्चा छ । ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा पौडेल अर्थमन्त्री थिए । मन्त्रीका लागि प्रदेश नम्बर १ बाट सचिव योगेश भट्टराइको चर्चा छ । उनी ताप्लेजुङबाट विजयी भएका थिए । मन्त्री बनेका लालबाबु पनि प्रदेश नम्बर १ का हुन्, उनी मधेसी समुदायका नेता पनि हुन् ।

प्रदेश नम्बर २ बाट रघुवीर महासेठको मन्त्री बन्ने चर्चा छ । प्रदेश नम्बर ३ बाट महासचिव ईश्वर पोखरेल मन्त्री बन्ने लगभग निश्चित भएको छ । सिन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि मन्त्री बन्ने चर्चा छ । तामाङ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरलाई पराजित गरेर दोस्रोपटक सांसद बनेका हुन् ।

प्रदेश नम्बर ४ बाट युवा नेता रवीन्द्र अधिकारी मन्त्री बन्ने लगभग निश्चित जस्तै देखिएको छ । उनी २०६४, ०७० र ०७४ का तीनवटै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने स्याङ्जाकी पद्मा अर्यालको नाम पनि चर्चा छ ।

प्रदेश नम्बर ५ बाट उपमहासचिव पौडेल र सचिव ज्ञवाली मन्त्री बन्ने पक्का जस्तै छ । प्रदेश नम्बर ७ बाट कांग्रेस नेत्री डा आरजु राणा देउवालाई पराजित गर्ने नारदमुनी रानाको चर्चा छ । थारु समुदायको प्रतिनिधित्व गराउन नारदमुनी या शान्ताको नाम चर्चामा छ । यस्तै डोटीका सांसद प्रेम आलेको पनि मन्त्री बन्ने चर्चा छ ।

माओवादीबाट बादल गृहमन्त्री

माओवादी केन्द्रमा पनि सोमवार बिहानसम्म मन्त्री बन्नेको टुंगो लागिसकेको छैन । राष्ट्रिय सभाको अध्यक्षको रूपमा चर्चा गरिएका रामबहादुर थापा बादल गृहमन्त्री बन्ने पक्का भएको छ । थापा २०६५ सालमा बनेको माओवादी सरकारमा रक्षामन्त्री थिए ।

माओवादीका तर्फबाट मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा र वीना मगर मन्त्री बन्ने लगभग निश्चित भएको छ । यस्तै देवेन्द्र पौडेल, चन्द्रप्रकाश खनाल, शक्ति बस्नेत र अमनलाल मोदीको पनि चर्चा छ ।

प्रदेश नम्बर १ बाट कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदी, प्रदेश २ बाट मातृका, प्रदेश ३ बाट बादल, प्रदेश ४ बाट देवेन्द्र, प्रदेश ५ बाट चन्द्रप्रकाश खनाल, प्रदेश ६ बाट शक्ति र ७ बाट वीना मगरलाई मन्त्री बनाउने माओवादीको तयारी छ ।

सोमवार दिउँसो ३ बजे नयाँ मन्त्रीहरूलाई शपथ गराउने सरकारको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्