२७ जेठ २०८३, बुधबार

प्रमुख समाचार : ११ दिनपछि ओलीले थपे ४ मन्त्री, रेशम चौधरी थुनामा

फागुन १५, २०७४
प्रमुख समाचार : ११ दिनपछि ओलीले थपे ४ मन्त्री,  रेशम चौधरी थुनामा

काठमाडौं, १५ फागुन– एमाले अध्यक्ष केपी शर्मा ओली  नेतृत्वको सरकारमा  ४ मन्त्री थपिएका छन् । ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा  नियुक्त भएका थिए । सोहि दिन ओलीले दुई जनालाई मन्त्री बनाएपनि  थप मन्त्रिमण्डल बिस्तार गर्न सकेका थिएनन् ।  आफू प्रम भएको  ११ दिनपछि सोमबार मन्त्रिमण्डल बिस्तार गरेका हुन् । 
सोमबार प्रम ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट  पद तथा गोपनीयताको शपथ लिनेहरुमा  ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा छन् । 
पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा खतिवडा अर्थ मन्त्री बनेका छन् । 
चारैमन्त्रीले सोमबार नै पदभार समेत ग्रहण गरेका छन् । 
यसअघि ओलीले फागुन ३ गते नै लालबाबु पण्डित (वातावरण) र थममाया थापा (महिला तथा बालबालिका) लाई मन्त्री बनाएका थिए । 

मन्त्रिमण्डलले अझैं पूर्णता  पाउन सकेन
 एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अझैं पूर्णता पाउन सकेको छैन । पार्टीभित्रको समीकरण मिलाउन नसक्दा  तथा संघीय समाजवादी फोरम पनि सरकारमा सहभागि हुने विस्वासका साथ मन्त्रिमण्डललाई पूर्णता दिन ढिलाई भएको नेताहरुले बताएका छन् । 
एमाले र माओवादी केन्द्रले फोरमलाई सरकारमा सहभागि गराउने प्रयासस्वरुप सोमबार  उपेन्द्र यादवसँग छलफल गरेको छ ।  छलफलमा एमाले अध्यक्ष तथा प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  फोरम अध्यक्ष यादवलाई सरकारमा सहभागि हुन आग्रह गरेका थिए । तर, आफ्नो पार्टी संविधान संशोधनमा वाम गठबन्धनबाट लिखित प्रतिबद्धता नआएसम्म सरकारमा सहभागि नहुने यादवले प्रतिक्रिया दिएका छन्  ।  प्रधानमन्त्रीले भने आवश्यकताको आधारमा संविधान संशोधन हुन सक्ने भन्दै लिखित सम्झौता गर्न आनाकानी गरेको बताइएको छ । 
नेताहरुका अनुसार अझैं पनि फोरमलाई सरकारमा सहभागि गराउने प्रयास जारी रहेको छ । फोरमले सरकारमा सहभागि हुन नमानेको अवस्थामा एमाले र माओवादी केन्द्रबाट  नामबारे अन्तिम टुंगो लगाएर मन्त्रीको चयन गरिने बताइएको छ । 
पूर्वसहमतिअनुसार एमालेबाट १० र माओवादी केन्द्रबाट ७ मन्त्री बन्ने छन् ।  सोमबारको सपथसँथै एमालेबाट ४ जना मन्त्री भएका छन् भने  माओवादी केन्द्रबाट २ जनामात्रै मन्त्री बनेका छन् । 


चौधरी पुर्पक्षका लागि  कारागार

जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । 

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार चौधरीलाई थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । 

टीकापुर घटनाको झण्डै ३० महिनापछि अदालतमा आफूविरुद्ध दायर गरिएको मुद्दाको प्रतिवाद गर्न सोमबार बिहान निवेदनसहित अभियुक्त चौधरी हाजिर भएपछि दिनभरी बयान र बहस भएको अदालतका श्रेस्तेदार इन्द्र कठायतले बताए । 


मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्तासहित चार जनाले बहस गरेपछि चौधरीका तर्फबाट तीनजना अधिवक्ताले बहस गरेका थिए ।  सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता भानदेव जोशी, सहायक न्यायाधिवक्ता नवीन भट्ट र वरिष्ठ अधिवक्ता राजेन्द्र साउँदले बहस गरेका थिए ।  
प्रतिवादीका तर्फबाट अधिवक्ता गंगाराम पाध्या, मिलन राई र गजेन्द्रबहादुर केसीले बहस गरेका थिए ।  जसमा सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र साउँदले प्रति बहस गरेका थिए ।  


टीकापुर घटनापछि फरार अभियुक्त चौधरी फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएर कैलाली निर्वाचन क्षेत्र नं १ बाट अत्यधिक मतका साथ विजयी भएका थिए । 

चुनावमा विजयी भए पनि उनले विजयीको प्रमाण पत्र बुभ्mन सकेका छैनन् । थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते भएको घटनामा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रेशम त्यतिबेला थरुहट आन्दोलनको क्षेत्र नं १ का संयोजक थिए । उक्त घट्नापछि उनी फरार रहेका थिए । 

मन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् । 

सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए । 


“अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ”, उनले भने । 

मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे । 


अर्थमन्त्री डा खतिवडा

नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका छन् । 

मन्त्रालयमा पदबहालीपछि आयोजित समारोहमा उनले भने, “संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्नेछ ।” 

अर्थमन्त्री डा खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय अन्तर्रा्ष्ट्रिय प्रतिबद्धतालाई पनि सँगसँगै लैजाने बताए । 

संविधानले लोककल्याणकारी राज्य हुँदै समाजवादउन्मुख हुँदै गर्दा संविधानप्रदत्त लोककल्याणकारी राज्यको भूमिकालाई अग्रणी नेतृत्व दिने जिम्मेवारी लिने क्रममा निजी, सहकारी र सामुदायिक क्षेत्रसँग परिपूरकताका आधारमा सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । 

अर्थमन्त्री डा खतिवडाले आर्थिक समृद्धि र गरिबी निवारणमा अवरोध गर्ने सरकारी वित्त व्यवस्थापनमा देखिने अनुशासनहीनताको अन्त्य गर्नुपर्ने जोड दिदैं “सरकारी वित्त प्रणालीमा हामी अनुशासन कायम गराउँछौं र खर्चको प्रभावकारितामा अघि बढ्छौँ,” भने । 

वित्तीय प्रणालीमा स्थायित्व ल्याउनुपर्ने उल्लेख गर्दै उनले साधन र स्रोतलाई उत्पादन क्षेत्रमा केन्द्रित गर्नुपर्ने समेत बताए । 


गृहमन्त्री थापा

नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा र सुशासन पहिलो शर्त भएको बताएका छन् । 

मन्त्रालयमा पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले भने, “निर्वाचनपछिको राजनीतिक स्थायित्वले मुलुक र जनताको हितमा काम गर्ने ऐतिहासिक अवसर आएको छ, यसलाई अवसरका रुपमा लिनुपर्छ । जनअपेक्षानुसार काम गर्न आफ्नो क्षमताले भ्याएसम्म काम गरिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री थापाले यसमा आइपर्ने चुनौतीको सामना गर्न सबैको सहयोगको अपेक्षा गरे।

मन्त्रालयमा यसअघिका राम्रा कामलाई निरन्तरता दिइने र सकारात्मक कामको अनुसरण गरिने बताउँदै उनले कर्मचारी र सुरक्षाकर्मीको वृत्तिविकासमा देखिएका समस्या समाधानका लागि पनि आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे । 


मन्त्री पोखरेलः संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्य्किरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन् । 
सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन् । 

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिँदैछन् । 

मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उनले विश्वासको मत लिन लागेको संसद् सचिवालयले जनाएको छ । सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको माओवादी संसदीय दलका मुख्य सचेतक सीता नेपालीले जानकारी दिइन् । 

एक सांसद भएको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका पक्षमा मतदान गरेको थियो । कर्णाली प्रदेशमा ४० सांसद छन् । एमालेका संसदमा सभामुखबाहेक १९, माओवादी केन्द्रका १३ र नेपाली काँग्रेसका छ छन् । 

नेविसंघको प्रवक्तामा जोशी
नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् | 

नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । 

अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न र प्राज्ञिक तथा सूचना प्रविधिको प्रयोग गरी संगठनलाई अझ थप योगदान पु¥याउने जिम्मेवारीपत्रमा उल्लेख गरेका छन् । 

 मुख्य सचेतकमा नेपाली
नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन भएकी छन् । 

माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वा्चित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिइन् ।  संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण भएपछि मात्रै चयन गरिने सांसद शाहले बताइन्  ।

श्रीदेवीको ‘दुर्घटनावस डुबेर’ मृत्यु 
बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले सोमबार जानकारी गराएको छ । 

वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर रहेको छ । 

“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले जनाएको छ ।” 

दुबई प्रहरीले ट्वीटरमार्फत् दिएको जानकारी अनुसार मृतक भारतीय नायिका श्रीदेवीको मुद्दालाई अब दुबईको सरकारी फौजदारी अदालतमा सारिएको छ । उक्त अदालतले यसपछिका कानूनी प्रक्रिया पूरा गरी मृत शरीरलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने छ । 

भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका ५४ बर्षीय श्रीदेवीका शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र भएको थियो । 

मृत्युको कारणसहितको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतावासलाई उपलब्ध गराएको ‘गल्फ न्यूज’ले जनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारको प्रतिवेदनको फोटो प्रतिलिपिलाई गल्फ न्यूजले आफ्नो ट्वीटर पेजमा सम्लग्नसमेत गरेकोे छ । 

सिरियामा युद्धविराम सम्भव – रसिया
रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन् । 
सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । 
सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सवै पक्षलाई कम्तिमा तीस दिने युद्धविराम गरी मानवीयता कायम राख्न आग्रह गरिएको छ । 
रसियाका उच्च कुटनीतिक अधिकारी लाभरोेभले आईएस लडाकूले मात्रै नभई अन्य पक्षले पनि युद्धविरामका सर्तहरू पालना गर्नुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्