
काठमाडौं, १५ फागुन — कुनै बेलामा हलिउडका शक्तिशाली निर्माता रहेका हार्भे वाइनस्टाइन अहिले कंगाल भएका छन् ।
द न्युयोर्क स्टुडियोका सहसंस्थापक वाइनस्टाइनले आफू टाट पल्टेको घोषणा गर्ने भएका छन् ।
एक लगानीसमूहलाई सम्पत्ति बेच्ने विषयमा भएको कुराकानी विफल भएपछि आफैं दिवालिया घोषित गर्ने भएका छन् ।
न्युयोर्कका महान्यायधिवक्ताले वाइनस्टाइनको कम्पनीविरुद्ध मुद्दा दर्ता गरेपछि सम्पत्ति बेच्ने चर्चामा दुई हप्ताअघि विराम लागेको थियो ।
ग्विनेथ पाल्त्रो, एन्जेलिना जोली, कारा डेलेविने, लिया सेडोक्स, उमा थरम्यान लगायतका अभिनेत्रीहरूले वाइनस्टाइनबाट खराब अनुभव गर्नुपरेको बताएका छन् ।
कम्पनीका निर्देशकहरूले आफूलाई दिवालिया घोषित गर्नु नै एकमात्र बाटो भएको बताए ।
वाइनस्टाइनमाथि यौन शोषणका दर्जनौं आरोप लागेका छन् तर उनले ती सबैलाई अस्वीकार गरेका छन् ।
कम्पनीविरुद्धको मुद्दामा वाइनस्टाइनले कैयौं वर्षसम्म महिलाहरूको यौन शोषण गरेको र घटना सार्वजनिक गरेमा हत्या गरिदिने धम्की समेत दिएको आरोप लगाइएको छ ।
वाइनस्टाइनका भाइ रोबर्टसहित कम्पनीका वरिष्ठ अधिकारीहरूले दुर्व्यवहार रोक्न असफल रहेको आरोप लगाइएको छ ।
पुष्ट प्रमाण भएपनि उनीहरूले कुनै कारबाही नगरेको आरोप पनि लागेको छ ।
न्युयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानले पीडितहरूलाई अदालतबाट केही क्षतिपूर्ति दिलाउने प्रयास गरिरहेका छन् ।
वाइनस्टाइनका वकिलले निष्पक्ष जाँचबाट अधिकांश आरोप प्रमाणविना नै लगाइएको पत्ता लाग्ने बताए ।
बीबीसीबाट