
काठमाडौं, १५ फागुन — संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूका तर्फबाट सहायता बाँडिरहेका मानिसले सिरियाली महिलाको यौन शोषण गरेको बीबीसीले पत्ता लगाएको छ ।
सहायताकर्मीहरूका अनुसार, पुरुषहरूले यौनका लागि खानेकुरा र गाडी चढ्ने सुविधा दिइरहेका छन् ।
यस्तो किसिमको दुर्व्यवहारका बारेमा तीन वर्षअघि चेतावनी दिइएको भएपनि नयाँ प्रतिवेदनले देशको दक्षिणी भागमा यसले निरन्तरता पाइरहेको देखाएको छ ।
राष्ट्रसंघीय निकाय तथा परोपकारी संस्थाहरूले शोषणप्रति शून्य सहनशीलता अपनाएको र उक्त क्षेत्रमा साझेदार संस्थाहरूले दुर्व्यवहार गरेको कुनै घटनाका बारेमा अनभिज्ञ रहेको बताएका छन् ।
सहायताकर्मीहरूले बीबीसीलाई बताएअनुसार, शोषण व्यापक रूपमा फैलिएको भएर सिरियाली महिलाहरू वितरण केन्द्रमा जान मानिरहेका छैनन् । त्यहाँबाट ल्याइएको सहायता शरीर बेचेरै ल्याएको भनी मानिसले ठान्छन् भनी उनीहरू डराएका हुन् ।
मानवीय सहायता गर्ने निकायहरूले शोषणप्रति बेवास्ता गरिरहेको दाबी एक सहायताकर्मीले गरे । अन्तर्राष्ट्रिय कर्मचारीहरूले सिरियाको खतरनाक स्थानमा पहुँच पाउन नसक्दा तेस्रो पक्ष र स्थानीय अधिकारीहरूलाई प्रयोग गरेर
सहायता बाँड्नुपरेको र त्यस्ता पक्षले शोषण गरेको हुनसक्ने उनले बताए ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले गत वर्ष उक्त क्षेत्रमा लैंगिक हिंसाको मूल्यांकन गरेको थियो अनि सिरियाका विभिन्न प्रान्तमा यौनको बदलामा मानवीय सहायता दिइरहेको निष्कर्ष निकाल्यो ।
बीबीसीबाट