
मुम्बइ, १५ फागुन- दुबईमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युको कारणबारे विवाद उत्पन्न भएको छ ।
दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविकरूपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले उनको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचार प्रकाशन/प्रशारण गरेका छन् ।
उनको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षड्यन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन् ।
यसैबीच श्रीदेवीको पार्थिक शरीरलाई मंगलबार पनि स्वदेश ल्याइएको छैन । कतिपय समाचारमा उनले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइए पनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी सेवन नगर्ने गरेको बताएका छन् ।
साथै श्रीदेवीका श्रीमान् बोनी कपूरलाई दुबई प्रहरीले सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिइरहेका छन् ।
यद्यपी सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ ।
सोमबार नै मुम्बईबाट दुबई ल्याइने भनिएको श्रीदेवीको शव यस्तै अन्यौलको स्तिथिका कारण मङ्गलबार पनि ल्याउन सकिएको छैन । उनको पार्थिक शरीरलाई मुम्बई ल्याइ श्रद्धाञ्जली दिन सिने जगतलगायतका उनका हजारौँ समर्थक मुम्बईमा पर्खाइमा रहेका छन् ।
चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको जनाइएको थियो ।