
काठमाडौं, १५ फागुन — भारतले हिन्द महासागरमा आयोजना गरेको संयुक्त जलसेना अभ्यास मिलनमा भाग लिन माल्दिभ्सलाई पठाएको निमन्त्रण उसले अस्वीकार गरेको जलसेना प्रमुख एडमिरल सुनिल लाम्बाले बताए ।
फागुन २२ देखि २९ सम्म हिन्द महासागरमा भारतीय जलसेनाले सैन्य अभ्यास गर्दैछ ।
हिन्द महासागरमा चीनको गतिविधिमाथि आफूहरूले कडा नजर राखिरहेको पनि लाम्बाले बताए ।
चीनले माल्दिभ्समा संयुक्त महासागरीय वेधशाला (अब्जर्भेटरी) स्टेसन स्थापना गर्ने प्रयास गरिरहेको छ । यसो भएमा भारतका लागि सुरक्षा खतरा हुने भारतीयहरूको विश्लेषण छ । वेधशालामा सबमरिन बेस पनि राखिने माल्दिभ्सको विपक्षी दलका नेताले जनाएका छन् ।
माल्दिभ्सको मकुनूथू नामक स्थानमा यो वेधशाला बनाउने प्रयास गरिँदैछ र उक्त स्थान भारतभन्दा धेरै टाढा छैन । मालेका राजनीतिक सूत्रहरूका अनुसार, यसो भएमा चीनले हिन्द महासागरमा एक महत्त्वपूर्ण अड्डा पाउनेछ ।
यहाँबाट अनेकौं व्यापारिक तथा अन्य जहाजहरू आवागमन गर्छन् ।
एजेन्सी