१२ असार २०८३, शुक्रबार

छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरे रोक्का

फागुन २०, २०७४
छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरे रोक्का

बुटवल, २० फागुन– रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ । छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।

२५ हजारको मुद्दती खाता
गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ । सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ । मुद्दती खाता बालिकाको नाममा खोलिनेछ । विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । 

बैँकहरूसँग प्रस्ताव माग
गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि बैँकहरूसँग ब्याजदरको प्रस्ताव पेस गर्न आब्हान गरिसकेको छ । २० वर्षे मुद्दती खाता धेरै ब्याज दिने बैँकमा खोल्ने तयारी छ । गत साउन यता जन्मेका बालबालिकाका लागि यो कार्यक्रम लागु हुनेछ । बैँकहरूबाट प्रस्तावहरू आएपछि अध्ययन गरी काम अगाडि बढाउने गाउँपालिकाले जनाएको छ । 


लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध
नेपालको कानुनले गर्भपतनलाई अपराध मानेको छ । वरिष्ठ अधिवक्ता विनोद गौतमले पहिचानका आधारमा गर्भपतन गर्नुलाई गम्भीर अपराधका रूपमा लिइने बताउँछन् । हाडनाता करणीबाट रहेको गर्भ ,महिलाको स्वस्थ्यमा असर पर्ने अवस्थालगायतमा मान्यताप्राप्त अस्पतालमा गर्भपतन गर्न सकिने अन्यथा ज्यानसम्बन्धी महलअनुसार सजाय हुने प्रावधान रहेको उनले बताए । 

२० वर्ष नपुग्दै बिहे गरे रकम नपाउने
बालिका २० वर्षकी भएपछि मात्रै मुद्दती खातामा जम्मा भएको रकम चलाउन पाउने व्यवस्था गरिँदै छ । त्यसअघि विवाह गरे सो रकम गाउँपालिकाको खातामा जाने व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । यसले बालविवाह रोक्ने अपेक्षा छ, नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्