
काठमाडौं २० फागुन– सरकारमा सहभागिता जनाउन राजी भएको संघीय समाजवादी फोरमसँग लिखित सम्झौता गर्न आइतवार निर्णायक छलफल हुँदैछ । संविधान संशोधन लगायत फोरमले राखेका बिषयमा सहमति गरेर आइतवार नै हस्ताक्षरको तयारी रहेको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेपछि बस्ने बैठकमा सहमतिको प्रयास गरिने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘सकेसम्म आजै सहमति गर्ने हाम्रो प्रयास छ’ श्रेष्ठले लोकान्तरसँग भने ।
प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीघ समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु बैठकमा सहभागि हुनेछन् ।
बिहीवार नै लिखित सम्झौतामा हस्ताक्षर गर्ने बताइएपनि होली मनाउन भन्दै फोरम अध्यक्ष तराई झरेपछि हस्ताक्षर हुन सकेको थिएन । तीन दलबीच संविधान संशोधनमा सहमति जुटेपनि मन्त्रालयको भागवण्डामा कुरा नमिलेको स्रोतको भनाइ छ ।
फोरमले सरकारमा सहभागिताका लागि तीन मन्त्रालय र उपसभामुख पदमा दावी गरेको छ । फोरमले सरकारमा समेत दोस्रो बरियताको दाबी गरेको छ । एमाले माओवादीले भने दुई मन्त्रालय र उपसभामुख लिन आग्रह गरेका छन् । संसदमा दुई तिहाइ बहुमत पुराउन प्रधानमन्त्री ओलीले उपेन्द्रलाई सरकारमा ल्याउन लागेका हुन् ।
संविधान संशोधनमा सैद्धान्तिक सहमति जनाएपनि फोरम सरकारमा जान राजी भएको हो । फोरमसँग सहमति भए एक दुइ दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ ।