
काठमाडौं २० फागुन– अर्थमन्त्री डा.युवराज खतिवडालगायत राष्ट्रिय सभामा मनोनित तीन जना सदस्यलाई शपथ नखुवाउन भनी दिइएको अन्तरिम आदेश सम्बन्धमा सर्वोच्च अदालतमा आज वहस हुँदैछ ।
पूर्ववर्ती शेरबहादुर देउवा सरकारले नियुक्तिका लागि सिफारिश गरेका गोपाल कुमार बस्नेत लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै १३ फागुनमा प्रकाश राउतको इजलासले तत्काल शपथ नगराउन अन्तरकालिन आदेश जारी गरेको थियो ।
आइतबार (आज) सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाश राउतको इजलासमा पेशी तोकिएको छ । देउवा सरकारले गरेको सिफारिश उल्टाउँदै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खतिवडासहित तीन जनालाई राष्ट्रियसभामा सिफारिश गरेको थियो ।
ओली सरकारको सिफारिश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सदस्य नियुक्त गरेपछि देउवा सरकारको सिफारिशमा परेका तीन जना सर्वोच्च गएका थिए ।
न्यायपालिकाले हस्तक्षेप गर्न मिल्दैन –ओली
एमाले माओवादी सांसदहरुको संयुक्त बैठकलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यका लागि सिफारिसमा परेका तीन जनाको शपथ अदालतले रोक्न नमिल्ने बताएका थिए । उनले कार्यपालिकाको अधिकारमाथि न्यायपालिकाले हस्तक्षेप गर्न उचित नहुने तर्क गरेका थिए ।