
काठमाडौं, २० फागुन — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दाताहरूसँगको एक बैठकमा चिनियाँ समकक्षी सी चिनफिङबाट आफ्नो कार्यकाल बढाउने प्रयासलाई प्रशंसा गरेको सीएनएनले सार्वजनिक गरेको एक रेकर्डिङमा सुनिन्छ ।
‘चीन महान् छ र सी एक महान् पुरुष हुन् भन्ने नबिर्सनुस् । उनी अब जीवनभरिका लागि राष्ट्रपति हुन्,’ ट्रम्पले रिपब्लिकन दलका समर्थक दाताहरूलाई भने । उनले आफ्नो मार–ए–लागो घरमा शनिवार यसो भन्दा जम्मा भएको भीड गलल्ल हाँसेको थियो ।
चीनको राष्ट्रिय संसद् बेइजिङमा दुई हप्ताका लागि भेला भएर सीलाई दोस्रो कार्यकाल दिलाउन अनि उनलाई सधैंका लागि सत्तामा राख्न भेला हुँदैछ । कम्युनिस्ट पार्टीले उक्त प्रस्तावित संशोधनको घोषणा फेब्रुअरी २५ मा गरेको थियो ।
माओको शासनकालमा भएका ज्यादतीपछि लामो समयसम्म एकैजनालाई शासन गर्न नदिने परम्परा बनेकोमा अहिले त्यसलाई भत्काइयो ।
‘हेर्नुस्, उनी त्यसो गर्न सफल भए,’ ट्रम्पले भने, ‘यो गजब हो जस्तो मलाई लाग्यो । हामीहरूले पनि कुनै दिन त्यसै गरौंला ।’ उनले त्यसो भन्दा मानिस झन् हाँसे । ह्वाइट हाउसले टिप्पणीका लागि गरेको अनुरोधलाई तत्कालै प्रतिक्रिया दिएन ।
एजेन्सी