१५ असार २०८३, सोमबार

रक्सी पिएर कुटाकुट गर्ने कर्मचारीलाई एक हजार जरिवाना

फागुन २०, २०७४
रक्सी पिएर कुटाकुट गर्ने कर्मचारीलाई एक हजार जरिवाना

धनगढी, २० फागुन– कार्यालय समयमा मदिरा सेवन गरी आपसमा कुटाकुट गर्ने कर्मचारीहरुलाई जनही एक–एक हजार रुपैयाँ जरिवाना गरिएको छ ।

फागुन १७ गते कार्यालय समयमा आपसमा कुटाकुट गरी होहल्ला गर्ने जिल्ला मालपोत र नापी कार्यालयका चार जना कर्मचारीसहित छ जनालाई जरिवाना गरिएको हो ।
 
मालपोत कार्यालयका नायव सुब्बा पूर्णानन्द जोशी, खरिदार ज्ञानेन्द्र ओझा, नापी कार्यालयका सर्वेक्षकद्वय विरेन्द्र सिंह र महादेव जोशीलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै लेखापढी कानून व्यवसायी नवराज जोशी र नापीका प्रयोत्गात्मक विद्यार्थी सागर कुवँरलाई पनि कारवाही गरिएको छ ।

उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा (९) को (१) बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

आज (आइतवार) कार्यालयका प्रमुखसहित ती कर्मचारीहरुलाई बोलाएर सोधपुछ गरेको बताउँदै प्रजिअ रिजालले सत्यतथ्य खुलाई पठाउनको लागि सम्बन्धित कार्यालयको प्रमुखलाई पत्रचार समेत गरिएको बताए ।

कुटपिटको क्रममा नासु पूर्णानन्द जोशीको हात भाँचिएको छ । उनी वाहेक सबै जनालाई आज जिल्ला प्रशासन कार्यालयमा उपस्थिति गराइएको थियो ।

यसैबीच विभिन्न सञ्चारमाध्यमहरुमा घुस रकममा कुरा नमिल्दा मदिराको नशामा रहेका कर्मचारीहरु आपसमा रकमको हिसाबकिताब खोज्दै कुटपिट गरेकोे भनी आएको थियो । जसबाट ती कार्यालयसहित कर्मचारीहरुको व्यापक आलोचना हुनुको साथै घुसयाहा कर्मचारीहरुलाई कडा कारवाही गरिनुपर्ने आवाज उठिरहेको छ ।

घटनाको शुक्ष्म रुपमा अनुसन्धान जारी राखेको प्रजिअ रिजालको भनाई छ । जसका लागि जिल्ला प्रशाशन कार्यालयका कानूनी अधिकृत लोकमणि पाण्डेलाई घटनाको वास्ताविकता बुझी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

फागुन १७ गते कार्यालय समयमा मदिरा सेवन गरी कुटपिट गरिरहहँदा उनीहरुलाई प्रहरीले वियर र रक्सीको बोतलसहित नियन्त्रणमा लिई छाडेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्