२६ असार २०८३, शुक्रबार

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र सिंह चुनावी मैदानमा

फागुन २१, २०७४
कांग्रेस संसदीय दलको नेताका लागि देउवा र सिंह चुनावी मैदानमा

काठमाडौं, २१ फागुन– नेपाली काँग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि आज दलको नेता चयनका लागि मतदान हुँदैछ । काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । 

सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका थिए । त्यस्तै सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेका थिए । 

सभापति देउवाले पार्टीको संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी दिएका बताइएको छ । संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । 

निर्वाचन तालिकाअनुसार आज बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिए । आजै बिहान १० देखि दिउँसो १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान हँुदैछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुनेछ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्