
काठमाडौं २१ फागुन– संसद बैठकमा ‘नियमापत्ति’ गर्ने पहिचान बनाएका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभाको पहिलो बैठकमै नियमापत्ति गरेका छन् । तर संसदको पहिलो बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले सुवालको नियमापत्ति लागू गरेनन् ।
सभामुखले प्रतिनिधि सभा कार्यसञ्चालन अन्तरिम कार्यविधीलाई निर्णयार्थ पेश गर्नै लाग्दा सुवालले नियमापत्ति गरेका थिए । ‘नियम नै पारित भएको छैन, माननीयज्यूले कुन नियम अन्तर्गत नियमापत्ति गर्नुभयो ?’ बैठकको अध्यक्षता गरेका ठाकुरले प्रतिपश्न गरे ।
उनले बस्न आग्रह गरेपछि सुवाल बसे । अन्तरिम कार्यविधि पारित भयो । ‘अन्तरिम कार्यविधि आजै पेश गरेर आजै पारित गर्नु ठीक छैन भनेर नियमापत्ति गरेको थिए’ सुवालले लोकान्तरसँग भने ।
यसअघिको संसद बैठकमा सुवालले सांसदहरुको गणपुरक संख्या नपुराइ बैठक सञ्चालन गरेपछि कयौ पटक नियमापत्ति गरेका थिए । सुवाल नेमकिपाका एक्ला सांसद हुन् ।