०१ साउन २०८३, शुक्रबार

तीन नम्बर प्रदेशको नाम ‘नेपालमण्डल’ राख्न प्रस्ताव

फागुन २१, २०७४
तीन नम्बर प्रदेशको नाम ‘नेपालमण्डल’ राख्न प्रस्ताव

काठमाडौँ, २१ फागुन– प्रदेश नम्बर तीनको नाम के राख्ने भन्ने बारेमा विभिन्न खाले बहस भैरहेका बेला प्रदेश नम्बर तीनकै प्रदेशसभा सांसद् डाक्टर अजयक्रान्ति शाक्यले ‘नेपालमण्डल’ सबै भन्दा उपयुक्त हुने बताउनु भएको छ । 

केही सञ्चारकर्मीहरुसँग छलफल गर्दै उहाँले यस्तो दाबी प्रस्तुत गर्नुभएको हो ।  ‘स्वयम्भु पूराणको आधारमा राजाधर्माकरले नियमपुर्वक पालेको (राज्य चलाएको) हूनाले त्यो देशको नाम ‘नेपालमण्डल’ रहन गएको हो भन्ने धारणा छ ,’ उहाँले भन्नुभयो, ‘नेपालमण्डल’शब्दको ऐतिहासिकता अध्ययन गर्दा इश्विको करीब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इश्वीको तेस्रो शताब्दीतिरको मानिने आर्य महामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं.५०२/५०३मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख भएको छ ।’

शाक्यले ‘नेपालमण्डल’ लिच्छवी राजा मानदेव अघि देखिनै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिने पनि दाबी गर्नुभयो । ‘यस्तै नेपाल मण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवि राजा जयदेवको इश्विको आठौं शताब्दीको अभिलेखमा उल्लेख भएको पाइन्छ । पछि ‘नेपालमण्डल’ नाम नेपालका प्राचीन अभिलेखहरुमा आठौं शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ,’ उहाँले भन्नुभयो, ‘लिच्छवि कालको अभिलेखमा उल्लेख भए अनुसार नेपाल मण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोशी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारि केरुङ (हालप्राप्त) र दक्षिणमा तिस्तुङ (मकवानपुर) सम्म थियो । तसर्थ वर्तमान ३ नं प्रदेश ऐतिहासिक हिसाबले नेपाल मण्डल हो ।’

पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिंदा नेपाल मण्डललाई एक अलग्गै प्रदेश मानेको पनि शक्यले इतिहास बताउनुभयो । ‘ पृथ्वीनारायण र उनका सन्तानले देशको नाम ‘गोरखा’मानेका छन् र राणाकालसम्म सो नामले औपचारिकता पाइरह्यो । पृथ्वीनारायण शाहको पालामा उनको विस्तारित नेपाल अधिराज्यमा ३ वटा प्रदेश थिए,’ उहाँले भन्नुभयो, ‘चौविसी राज्यका कतिपय भाग, नेपाल मण्डल,पूर्व र दक्षिणको सेनराज्य (किराँत) ।’

शाक्यले भूगोलको हिसावले पनि प्रदेश नम्बर तीनको नाम नेपाल मण्डल नै उपयुक्त हुने दाबी गर्नुभयो ।  ‘नेपाल मण्डलको उचाइ भूगोल अनुसार हिमाली क्षेत्र (लाङ्टाङ, जुगल, गणेश हिमाल, गौरीशङ्कर आदि), पहाडी क्षेत्र (महाभारत पर्वतश्रृंखला), र भित्रीमधेश (चुरेपर्वत श्रृंखला) सम्मिलितभई विविध वातावरणीय सम्पदायुक्त छ,’ उहाँले भन्नुभयो, ‘सोहौं शताब्दीतिर लेखिएको ‘नेपाल महात्मय’को अध्याय १५ श्लोक ३–५मा उल्लेख भए अनुसार ‘नेपाल मण्डल’को सिमाना पूर्वमा कौशकी(तामाकोशी, रामेछाप), पश्चिममा त्रिशूलगङ्गा( त्रिशूली, धादिङ्ग र नुवाकोट), उत्तरमा शिवलुति(गोसाईकुण्ड क्षेत्र, रसुवा) र दक्षिणमा शीतलोदका नदी(चिसापानी, इन्द्रसरोवर, मकवानपुर) सम्म रहेको पाइन्छ । मल्लकालसम्म आउँदा नेपाल मण्डल भन्नाले पाँचवटा राज्य भएको एउटा देश भन्ने बुझिन्छ । ती पाँचवटा राज्यहरु क्रमशः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा र दोलखा हुन् ।’

यी पाँचवटा राज्य भित्र अहिलेको प्रदेश नं. ३ को १३ वटा जिल्ला मध्ये १२ वटा जिल्ला पर्ने उहाँको भनाई छ । ‘ती १२ वटा जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ्ग, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर हुन्,’ उहाँले भन्नुभययो, ‘बाँकी चितवन जिल्ला पनि यक्ष मल्लको पालादेखि नेपाल मण्डल भित्रै पर्दथ्यो ।’ 

उहाँले भूगोलको आधारमा हेर्दा पनि नेपाल मण्डल भनेको काठमाडौं उपत्यका मात्र नभई प्रदेश नं. ३ को सम्पूर्ण भूगोल नै पर्ने बताउनुभयो । काठमाडौं उपत्यकामा बसोवास गर्ने नेवार समुदायलाई समेत आग्रह गर्दै उहाँले भन्नुभयो, ‘नेपाल मण्डल’ नाम उपत्यका बासीको मात्र हो भनेर भ्रम छर्ने प्रयास नगरौँ ।’ उहाँले तामाङ समूदाय झण्डै पन्ध्रसय वर्ष अघि देखि नेपालमण्डलमा बसोबास गर्दै आइरहेका आदिवासी भएको पनि दाबी गर्नुभयो ।

‘नेपालमण्डलका नेवार र तामाङ वाहेक मल्लकालमा नेपालमण्डल आई बसेका खस–आर्य, ब्राम्हणहरु पनि यहाँका आदिबासी हुन् । यस्तै दोलखाको थामी, जिरेल, चुरे पहाड वरपर रहेका चेपाङ र काँठमा रहेका दनुवार पनि यहाँकाआदिवासी हुन्,’ उहाँले थप्नुभयो, ‘यस्तै शाह, राणालगायत पाँचसय बर्ष अघिदेखि यहाँबसोबास गर्दै आइरहेका मुसलमान समुदाय पनि यहाँका आदिबासी हुन् । वर्तमान समयसम्म आउँदा यहाँ सयौं बर्षअघि देखि बसोबास गर्दै आइरहेका विभिन्न जातजातिका मानिसहरु सवै यहाँका सम्मानित जनताहरु हुन् ।’  

उहाँले नेपालमण्डलनाम ले वहुपहिचान स्थल भन्ने बुझाउने भन्दै पहिचानका आधारमा पनि उचित रहेको दाबी गर्नुभयो ।  ‘यहाँ रहेका मानिसहरुको सभ्यता भनेको नै नेपालमण्डलको सभ्यताको रुपमा रहेको छ,’ उहाँले भन्नुभयो, ‘नेपालको धेरैजसो धार्मिक–सांस्कृतिक पूजा–आजा गर्दा ‘नेपालमण्डल’को उच्चारण गर्ने गरिन्छ । नेपालमण्डलमा कुनै पनि व्यक्तिको चिनालेख्दा...... आर्यावत्र्त हिमवतखण्ड्य ,’ नेपालमण्डल देशीय .....भनेर लेख्ने गरेको पाइन्छ । ‘नेपालमण्डल’शब्दसामाजिक सांस्कृतिक क्रियाकलापमा उल्लेख गरेको पाइएकाले नेपालमण्डल शब्दले यहाँको जनताको सामाजिक सांस्कृतिक पहिचान बोकेको स्पष्ट हुन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्