
काठमाडौं २१ फागुन- गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि बुधवार उम्मेदवारी मनोनयन हुँदैछ ।
नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । फागुन २९ गते हुने मतदानका लागि बुधवार उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
राष्ट्रपतिको उम्मेदवार छान्न नेकपा एमालेले मंगलवार अपराह्न स्थायी समिति बैठक बोलाएको छ । स्पष्ट बहुमत रहेको गठबन्धनको सहयात्री दल माओवादी केन्द्रसँग राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको छ ।
राष्ट्रपतिका लागि एमालेबाट तीनजना आकांक्षी देखिएका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ आकांक्षी छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूह भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने पक्षमा छ, भने वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम खनालको पक्षमा रहेको एमाले स्रोतको दाबी छ ।
नेम्वाङको पक्षमा भने नेताहरू खुलेका छैनन् ।
पहिलो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेका कारण भण्डारीलाई दोहोर्याउनु पर्ने मत एमालेभित्र छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव ७ वर्ष राष्ट्रपति बने पनि भण्डारीको कार्यकाल २८ महिना मात्र पुगेको छ ।
मंगलवार बस्ने एमाले स्थायी समिति बैठकले राष्ट्रपति उम्मेदवार तय गर्ने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
एमालेसँग पार्टी एकीकरणका लागि लिखित सहमति गरिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि भण्डारीलाई दोहोर्याउने पक्षमा सकारात्मक रहेको माओवादी स्रोत बताउँछ ।
प्रतिनिधिसभा निर्वाचनमा दोस्रो दलमा सीमित बनेको नेपाली कांग्रेसले भने अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार तय गरेको छैन ।
कांग्रेसले सांकेतिक उम्मेदवारी दिने तयारी गरेको छ ।
उम्मेदवारले ४ लाख खर्च गर्न पाउने
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भाग लिने उम्मेदवारको निर्वाचन प्रचार-प्रसार खर्चको सीमा निर्धारण गरेको छ । जसअनुसार एकजना उम्मेदवारले निर्वाचन प्रचार-प्रसारमा बढीमा ४ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।