०८ साउन २०८३, शुक्रबार

रेशम चौधरीको ‘समर्थन’मा आमरण अनशन, माग पूरा नभए ‘मर्न’ तयार

फागुन २१, २०७४
रेशम चौधरीको ‘समर्थन’मा आमरण अनशन, माग पूरा नभए ‘मर्न’ तयार

धनगढी, २१ फागुन– टीकापुर घटनाका आरोपित रेशम चौधरीलगायतको आमरण अनशन आज पनि जारी रहेको छ ।

टीकापुर घटनाका आरोपितहरुले तीन बुँदे माग राख्दै आइतवार साँझदेखि आमरण अनशन थालेका थिए । माग सम्बोधन नभएसम्म आफुहरुको अनशन जारी रहने उनीहरुको भनाइ छ ।

अनशनमा रहेका थुनुवा विश्राम चौधरीले सांसद रेशम चौधरीलाई प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, २६ जनामाथि लगाइएको मुद्धा फिर्ता गरिनुपर्ने र थरुहट आन्दोलन सम्बोधन नगरिएसम्म अनशन जारी रहने बताए ।

उनीहरुले एउटै राज्यमा पनि कानूनी रुपमा विभेद भैरहेको दावी गरेका छन् । थुनामा रहेका थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीले संविधानको धारा १८ मा सबै नागरिक कानूनको दृष्टिमा समान रहने भनिएको र धारा २० को उपधारा ५ मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन, भनिएपनि आफूहरुमाथि आपराधीको जस्तो व्यवहार भैरहेको दुखोसो सुनाए । आफूहरुलाई ३० महिनादेखि हालसम्म पुर्पक्षमै राखिएको बताउँदै उनले आफूहरुको माग सम्बोधन नभएसम्म कुनैपनि हालतमा सामाजिक सद्भाव कायम नहुने ठोकुवा गरे ।

त्यस्तै, सांसद रेशम चौधरीले जेलभित्रैपनि आफुलाई विभिन्न किसिमको यातना दिदै आएको बताए । ‘राती सुतेपछि वाहिरबाट ढोका बन्द गरिदिने, कडा निगरानीमा राख्ने, भेटघाटमा कडाई गर्ने काम भैरहेको छ,’ सञ्चारकर्मीहरु संग उनले भने, ‘वास्तवमा राज्यले हामीलाई हदैसम्मको कानूनी विभेद गरिरहेको छ । नवराज सिलवाल, ववन सिंह, केपी ओली, प्रचण्ड, यहाँ कसलाई मुद्धा लागेको थिएन र ? तर हामीलाई गरिने व्यवहार फरक छ । राज्यले हामीलाई मरेकै देख्न चाहान्छ भने हामी अनशनमै मरेर देखाउँछौ ।’

फागुन २० गते सांसद चौधरीलाई शपथ ग्रहणमा सहभागी नगराएपछि थुनुवाहरु जेलभित्रै असशनमा बसेका हुन् । करिब ३० महिनासम्म फरार रहेका उनी फागुन १४ गते जिल्ला अदालत कैलालीमा उपस्थित भए । त्यहि दिन अदालतले उनलाई पुर्पक्षमा राख्न आदेश दियो ।

घटनाका २६ आरोपीमध्ये कैलाली कारागारमा रहेका २४ जना अनशनमा बसेका छन् । भने दुई जना नाबालक पोखरास्थित बालसुधार गृहमा रहेका छन् ।

कैलाली–कञ्चनपुरमामा जारी परस्पर विरोधी अखण्ड सुदूरपश्चिम र थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर घटना घटेको थियो । घटनामा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान गएको थियो । घटनाको भोलिपल्ट भदौ ८ गते कर्फ्यू जारी रहेकै अवस्थामा थारुहरुको घर, पसल, एफएमलगायतमा आगजनी भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्