
जनकपुर, २२ फागुन- विपन्न बिरामीलाई सस्तो तथा सुलभ मूल्यमा औषधि बिक्री गरेको भन्दै औषधि व्यवसायी संघ जनकपुरले रामस पब्लिक फार्मेसी प्रालिको साधारण सदस्यता खारेज गरेको छ । सर्वसाधारणलाई सस्तोमा नभई अधिकतम मूल्यमा औषधि बिक्री गर्न दबाब दिँदै संघले सो फार्मेसीको सदस्यता खारेज गरेको हो ।
सर्वसाधारणलाई सस्तोमा औषधि उपलब्ध गराउँदै आएको रामस पब्लिक फार्मेसीको सदस्यता खारेज गरेर संघले औषधिमा सिन्डिकेट लागू गरेकोमा राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले संघमाथि उचित कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई परिपत्र गरेको छ । साथै, मूल्यमा कार्टेलिङ र सिन्डिकेट गरी औषधि आपूर्तिमा बन्देज लगाउने थोक बिक्रेतामाथि छानबिन गरी कानुनी दायरामा ल्याउन आयोगले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ, नयाँ पत्रिकामा खबर छ ।