
काठमाडौं, २२ फागुन-स्वास्थ्य मन्त्रालयले सरकारी तथा निजी अस्पतालहरूसँग बिरामीबाट लिने उपचार शुल्कको सूची र त्यति लिनुको कारण मागेको छ । स्वास्थ्य मन्त्रालयको शुल्क निर्धारण कार्यसमितिको कार्यदलले राजधानीका सबै अस्पताललाई ७ दिनभित्र शुल्क सूची मन्त्रालयमा पठाउन सोमबार पत्राचार गरेको हो ।
मन्त्रालयले सरकारी, प्रतिष्ठान अन्तर्गतका, मेडिकल कलेज, निजी अस्पताल र सामुदायिक अस्पताललाई पत्राचारमार्फत अस्पतालले दिने सेवा, शुल्क र शुल्क लिनुको आधार मागेको कार्यदलका संयोजक डा. भोलाराम श्रेष्ठले लोकान्तरलाई बताए ।
‘हामीले अस्पतालले कुन–कुन सेवा प्रदान गरेको छ, ती सेवाको शुल्क कति लिने गरेका छन् र सेवाबापतको शुल्क लिनुको कारण माग गरी सोमबार नै पत्राचार गरेका छौं,’ डा. श्रेष्ठले भने, ‘काठमाडौंका सबै सरकारी अस्पताल र निजी अस्पतालहरूको छाता संगठनलाई ७ दिनभित्र सेवाको शुल्कको विवरण पठाउन पत्राचार गरिएको हो ।’
अस्पतालहरूले लिइरहेको शुल्कको बारेमा जानकारी लिएर बिरामीबाट अस्पतालले लिने शुल्कलाई वैज्ञानिक आधार तय गर्न अस्पतालहरूसँग शुल्क सूची माग गरिएको उनले बताए । उपचार शुल्कमा हुने मनोमानी रोक्न केही समयअघि चिकित्सा महशाखा प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो ।