
धनगढी, २२ फागुन– प्रदेश नं. ७ को सरकारले प्रदेशतहका कार्यक्रम सञ्चालनका लागि अल्पकालीन बजेट ल्याउने तयारी सुरु गरे छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशको लागि १ अर्व २ करोड ५० लाख बराबरको बजेट ल्याउने तयारी थालेको हो । बजेट चैत्र मसान्तभित्रै ल्याउने जनाइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट ल्याउने तयारीवारे ७ वटै मन्त्रालयका सचिवसँग छलफल समेत गरिसकेको जानकारी दिए । अर्थमन्त्री बोहराले चालु आर्थिक वर्ष २०७४÷२०७५ को ४ महिनाका लागि चैत्र मसान्तभित्रै ल्याउने बताएका हुन् ।
‘हामीले नयाँ आर्थिक वर्ष २०७५/०७६ का लागि पूर्ण बजेट त ल्याउनुपर्ने नै हुन्छ,’ अर्थमन्त्री बोहराले भने, ‘चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि अल्पकालिन बजेट ल्याउँदैछौ ।’
सरकार गठन पछि सञ्चित कोषको अभावमा मन्त्रालयलाई काम गर्न समस्या भएको थियो । उक्त समस्या समाधानका लागि अल्पकालीन बजेट भए पनि ल्याउने तयारीमा अर्थ मन्त्रालय लागि परेको छ ।
आउने बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु तयार गर्न पनि सवै मन्त्रालयका सचिवहरुलाई निर्देशन समेत दिइएको मन्त्री बोहराले बताए ।
‘बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु तयार गर्न सचिवहरलाई निर्देशन दिएको छु । बजेट ल्याउन धेरै सयम पनि बाकी छैन,’ उनले भने ।
अल्पकालीन बजेटको मुख्य प्राथमिकतामा कृषि क्षेत्र पार्ने जनाइएको । यसका साथै गरिबी निवारण, शिक्षा, स्वाथ्य, यातायात क्षेत्र बजेटका प्राथमिकताको क्षेत्र रहेको मन्त्री बोहराले बताए ।