
बुटवल, २२ फागुन- स्थानीय तहमा जनप्रतिनिधिहरू चुनिएपछि नौला/फरक काम हुन थालेका छन् । जनताको मत जित्नका लागि सामाजिक सुधार र सेवाप्रवाह सहज बनाउन जनप्रतिनिधिहरूको ध्यान केन्द्रित रहन थालेको छ । यसैक्रममा बुटवलमा नयाँ काम शुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य चेक जाँच र पौष्टिक आहारसहित भत्ता घरमै पुगेर उपलब्ध गराउन थालेको छ ।
सोही क्रममा मंगलबार बुटवल उपमहानगरपालिका- ११, भुवनसिंह मार्गमा ९२ वर्षीया तारालक्ष्मी सैंजु, छिमेकमा अर्की ९० वर्षीया पूर्णकला भुसाल र ८८ वर्षीया मनरुपा नेपालीका घरमै पुगेर स्वास्थ्य चेकजाँच गरिएको छ . उनीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।

उनीहरूजस्ता अशक्त तथा बिरामी परेका ज्येष्ठ नागरिकलाई बुटवल उपमहानगरले अहिले घर-घरमै पुगेर निःशुल्क स्वास्थ्य चेक जाँच सुरु गरेको नगरप्रमुख शिवराज सुवेदीले बताए ।
उपमहानगरअन्तर्गतका नगर स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीलाई औषधिसहित यो अभियानमा खटाइएको उनले जानकारी दिए ।
उपमहानगरअन्तर्गतका ५ वटै नगर स्वास्थ्य केन्द्रबाट सबै वडामा यस्तो अभियान शुरु गरिएको नगर प्रमुख सुवेदीले जानकारी दिए ।
उनले यस्तो अभियान हरेक चार/चार महिनामा गरिने र त्यस्ता लक्षित समूहलाई निःशुल्क औषधिसमेत उपलब्ध गराइने बताए ।
उपमहानगरपालिकामा ज्येष्ठ नागरिक परिचयपत्र यसपाली वडादेखि नै वितरण शुरु भएको छ । सामाजिक सुरक्षा भत्ताका लिन आउने र यहीँ परिचयपत्रका आधारमा कुन वडामा कति जना यो उमेर समूहका छन् त्यो पहिचान गरिन्छ । त्यहीँ आधारमा खोजतलाश गरेपछि घरमै स्वास्थ्य सेवा लिएर जाने अभियान शुरु गरिएको नगर स्वास्थ्य केन्द्रका प्रमुख डा. रमेश केसीले जानकारी दिए ।
यससंगै ९५ वर्ष उमेर पुगेका नागरिकहरूलाई घरमै पुगेर एक हजार रुपैयाँ भत्ता र पौष्टिक आहारसमेत उपलब्ध गराइएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।
मंगलबारसम्म यो अभियानअन्तर्गत १ सय १६ जना ज्येष्ठ नागरिकहरुलाई जनही १ हजार रुपैयाँ र पौष्टिक आहार उपलब्ध गराइसकिएको उपमहानगरपालिकाले जनाएको छ ।