०८ साउन २०८३, शुक्रबार

रकम अभावले कछुवाको गतिमा निर्माण हुँदै विराटनगरको ६ लेन सडक

फागुन २३, २०७४
रकम अभावले कछुवाको गतिमा निर्माण हुँदै विराटनगरको ६ लेन सडक

विराटनगर २३ फागुन- रानीदेखि विराटनगर हुँदै इटहरी र धरानको लामो सडक योजनाको काम शुरु भएको २०७० सालदेखि नै हो । यही समयमा शुरु भएका भैरहवा–बुटवल, कोहलपुर–नेपालगञ्ज लगायतका लगायतका क्षेत्रमा काम अन्तिम चरणमा पुगिसकेका छन् । तर रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम भने कछुवाको गतिमा भइरहेको छ ।

रानीको भन्सार यार्डदेखि शुरु भएको सडक विस्तारको काममा ढिलाई भएको हो । रानीदेखि ३ किलोमिटर उत्तरसम्म आशिष रोयल एपेक्स जेभी ८० प्रतिशत काम पूरा भएको छ । ५९ करोड ९८ लाखको लागतमा २०७२ असारदेखि २०७५ असारसम्मको सक्ने लक्ष्यसहित निर्माणको ठेक्का पाएको थियो । रानीको ३ किलोमिटरमाथि देखि उत्तर थप ३ किलोमिटर कालिका कान्छाराम जेभीले ठेक्कामा लिएको थियो । ६१ करोड ४७ लाखको लागतमा २०७२ साल असारदेखि २०७५ साल असार मसान्तसम्मको सक्नु पर्नेछ । यसको प्रगति जम्मा ५५ प्रतिशत मात्र पूरा भएको सडक परियोजनाको कार्यालयले जनाएको छ ।

रानीदेखि ३५ किलोमिटरसम्मको टेण्डर लागिसकेको छ । त्यसमा दुहबी बजारमा डेढ किलोमिटरको टेण्डर लग्नै बाँकी छ । ६ अर्बको सम्झौतामा यसवर्ष जम्मा ५९ करोड रुपैयाँ मात्र निकासा भएको छ ।

६ लेन सडक परियोजनाको काम अहिले रकम अभावमा रोकिने अवस्थामा पुगेको  छ । हालसम्म ६ अर्ब ५० करोडको ठेक्का सम्झौता भइसकेको छ ।

अहिले ठेक्का लागेका स्थानमा निर्माणको काम भइरहेका छन् । तर यही बेलामा रकम अभाव देखिएको परियोजनाका इञ्जिनियर सुमोद पोखरेलले जानकारी दिए । गतवर्ष पनि रकम निकासामा ढिला हुँदा २ महिना काम रोकिएको थियो । ठेक्का सम्झौता भएको ६ अर्ब ५० करोडमा १ अर्ब २५ करोड रकम मात्र खर्च भएको छ ।

यो वर्ष जम्मा नेपाल सरकारले ५९ करोड रकम निकासा गरेको छ । त्यो रकम सकिएपछि ठेकेदारले काम रोकेको छ ।

दैनिक २ सयभन्दा बढी कामदारले नियमित कायम गर्दै आएको जोगवनी–धरान सडकखण्डमा अहिले ५० जनाले पनि काम नगरेको पोखरेलको भनाई छ । यसको मुख्य कारण रकम निकासा कम हुनुु नै रहेको परियोजनाको ठहर छ ।

अहिलेको यही अनुपातमा काम हुने हो भने रानी–विराटनगर–इटहरी–धरानको काम सक्न १२ वर्ष लाग्ने इञ्जिनियर पोखरेल बताउँछन् । अहिलेसम्म काम नरोकिएको भए पनि तत्काल रकम निकासा नहुने हो भने अबको एक महिनाभित्र काम रोकिने अवस्थामा पुगेको उनले बताए । 

यसरी हुँदैछ काम

महेन्द्रचोकदेखि बरगाछी: यो सडक तुन्दिरमण जेभीले २०७३ असोजदेखि २०७५ वैशाखसम्ममा सक्ने गरी ५२ करोड ६० लाखमा ठेक्कामा पाइको हो । यस खण्डमा तीव्र गतिमा काम भइरहेको छ ।

बरगाछी–एयरपोर्ट मोड: यो सडकखण्ड १ दशमलव ५ किलोमिटर रहेको छ । कञ्चनजंगा पीएस गिताञ्जली जेभीको ठेक्कामा २ करोड ३२ लाखको लागतमा २०७० असार २७ गतेदेखि २०७४ असोजसम्म सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।

एयरपोर्ट–डिडिसी: ढुकुछु कान्छाराम डिम्डुङ जेभीले काम थालेको २०७० साल असार २७ गतेदेखि नै हो । तर त्यसको म्यद थप गरेर पनि २०७४ असार समान्तमा सकिएको छ । तर त्यो काम अझ पूरा हुन सकेको छैन । 
बरगाछी–डिडिसी (नाली निर्माण): बरगाछीदेखि दुग्ध विकास संस्थानसम्मको नाली निर्माणको ठेक्का पनि सकिएको छैन । १४ करोड १५ लाखको लागतमा २०७१ माघदेखि २०७४ असोजसम्मका लागि सम्झौता भएकोमा अहिले करीब ७० प्रतिशत मात्र प्रगति देखिन्छ ।

आइपीएल पप्पु जेभीले यो कामको ठेक्का लिएको थियो । समयमा नै काम नसक्दा यो ठेकेदार कम्पनी पेनाल्टीमा परेको छ । अब यो कम्पनीले जरिवाना वापत १ करोड ३० लाख तिर्नु पर्ने रानी–विराटनगर–इटहरी परियोजनाले जनाएको छ । 

डिडिसी–नेमुवा–नहर: यो सडकको ठेक्का सम्झौता अनुसार ३ प्याकेजमा लगाइएको छ । ४ किलोमिटर २ प्याकेज र बाँकी एक प्याकेजमा सक्ने गरी ठेक्का सम्झौता भएको हो । यो सम्झौताअन्तर्गत डिडिसी–टंकी, टंकी–बाँसवारी र बाँसवारी–नेमुवा गरी ३ प्याकेजमा काम शुरु भएको छ । टंकी–बाँसवारी सडकखण्डको काम पनि तीव्र पारिएको छ ।

शर्मा कान्छाराम जेभीले २०७१ साल माघदेखि २०७५ असार मसान्तमा सक्ने गरी सम्झौता गरेको छ ।  ९० करोड ८२ लाखको लागतमा निर्माण भइरहेको सडकको काम ४० प्रतशत सकिएको छ । टंकीसिनवारी–नेमुवा सडक निर्माणको ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको छ ।

यो सम्झौता शुरु भएको बल्ल १ महिना बितेको छ । ३१ करोड लागतमा निर्माण शुरु भएको कामको सम्झौता २०७७ सालमा सकिने छ । यसको दूरी १ दशमलव १८ किलो मिटर छ । 

दुहबी बजार: सुनसरीको दुहबी बजारका काम अघि बढ्न सकेको छैन । यसको दूरी डेढ किलोमिटर रहेको छ । स्थानीयले सडकमा निर्माण गरिएको घर भत्काउने विषयमा विवाद हुँदा ठेक्का सम्झौता नै हुन सकेको छैन । स्थानीयसँगको विवाद नमिल्दा ठेक्का लाग्न सक्ने अवस्था छैन ।

दुहबी–इटहरी: यो सडक तुम्दीरमण जेभी जनकपुरको ठेकेदार कम्पनीले ९ दशमलव ६ किलोमिटर निर्माण गर्ने गरी ठेक्का पाएको छ । १ अर्ब ६९ करोडको लागतमा निर्माण सम्पन्न गर्ने समय २०७५ चैत सम्मको म्याद दिइएको छ । यसमा म्याद थपिने सम्भावना बढी देखिन्छ । यसको उपलब्धि बल्ल ३० प्रतिशत देखिन्छ । यो ठेक्काको सम्झौत अवधि ३० महिनाको हो ।

इटहरी–तरहरा: यो सडकखण्डा सबैभन्दा चौडा सडकको रूपमा स्थापित हुनेछ । यो सडकखण्ड २ प्याकेजमा निर्माण पूरा हुने परियोजनाले जनाएको छ । इटहरी–आमगाछी सडक साढे २ किलोमिटर स्वच्छन्द काज्छाराम शैलुङ जेभीले ९१ करोडको लागतमा २०७६ चैतसम्ममा सक्ने लक्ष्य राखेर काम अघि बढाएको छ । यसको २०७४ साल असोजदेखि ठेक्का सम्झौता शुरु भएको हो ।

आमगाछी–तरहरा सडक खण्ड पनि साढे २ किलोमिटर नै रहेको छ । यसको ठेक्का आशिष–सन्तोषी लुम्बिनी जेभीले पाएको छ । २०७४ कार्तिकदेखि ठेक्का सम्झौता भएको यो सडक २०७७ वैशाखसम्म सम्पन्न गरिसक्नुपर्ने छ । ८९ करोड १० लाखको लागतमा सम्झौता भएको हो ।

इटहरी-तरहरा ४० मिटर चौडा

इटहरी तरहरा सडक ४० मिटर चौडा हुने छ । ग्रिनबेल्ड सर्भिस लेन सकित २०÷२० मिटर सडकलेन बनाउने योजना अनुसार काम अघि बढेको छ । आर्थिक वर्ष २०७५÷०७६ सम्मको परियोजनाको समय सीमा रहेकोमा अझै १४ किलोमिटर टेण्डर गर्नै बाँकी रहेको छ ।

एकैपटक टेण्डर आह्वान गरेको भए सजिलो हुने थियो, तर विभिन्न किस्तामा टेण्डर गर्दा समस्या आएको परियोजनाका अधिकारीहरू बताउँछन् । परियोजना आफ्नै तालले अघि बढेको छ । ‘पटके ठेक्कापट्टाले गर्दा समस्या छ, इञ्जिनियर पोखरेलले भने, ‘सडक सीमा विवाद, विद्युत् लाइन व्यवस्थापन चाँडो हुन नसक्नु, रुख कटानमा ढिलाई गरिदिनुले अप्ठ्यारो भएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्