२० असार २०८३, शनिबार

मुख्य समाचार : संसद्मा चुनावै चुनाव-सभामुखको मनोनयन दर्ता आज, ठगीको आरोपमा कलाकार न्यौपाने पक्राउ

फागुन २५, २०७४
मुख्य समाचार : संसद्मा चुनावै चुनाव-सभामुखको मनोनयन दर्ता आज, ठगीको आरोपमा कलाकार न्यौपाने पक्राउ

काठमाडौं, २५ फागुन– निर्वाचन आयोगअन्तर्गतको राष्ट्रपति निर्वाचन कार्यालयले राष्ट्रपति निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । कार्यालयले बिहीवार साँझ राष्ट्रपति उम्मेदवारका अन्तिम नामावली सार्वजनिक गरेको हो ।
प्रकाशित नामावलीको पहिलो नम्बरमा कुमारी लक्ष्मी राईको नाम छ । उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन् । वाम गठवन्धनकी उम्मेदवार वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नाम दोस्रो नम्बरमा छ । 
अन्तिम नामावली प्रकाशनसंँगै अब गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिका लागि वहालवाला राष्ट्रपति भण्डारी र राईबीच प्रतिष्पर्धा हुने भएको छ । राष्ट्रपतिको निर्वाचन आगामी मंगलबार विहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । 
चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ । यसैक्रममा आज प्रतिनिधिसभाको सभामुख चयनका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सभामुखका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यतालिका छ । 
डेढ साताको अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ । चुनावी कार्यतालिका अनुसार फागुन २५ गते सभामुख उम्मेदवारी, २६ गते सभामुख निर्वाचन, फागुन २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने तय भएको छ । 
यसैगरी, फागुन २८ राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी, फागुन २९ राष्ट्रपतिको निर्वाचन, फागुन ३० राष्ट्रियसभा अध्यक्षको निर्वाचन, चैत १ उपसभामुख उम्मेदवारी, २ उपसभामुख निर्वाचन, चैत ३ राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी र ४ मा उपाध्यक्षको निर्वाचन रहेको छ ।

सरकारप्रति देउवाको आक्रोश– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनको सरकारले आफ्नो अनुकुलतामा राज्यका संबैधानिक अंगमाथि हस्तक्षेप गर्दै नियन्त्रण जमाउन खोजेको आरोप लगाएका छन् । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार नेपाल महिला संघले पार्टी मुख्यालय सानेपामा गरेको कार्यक्रममा सभापति देउवाले ओली नेतृत्वको सरकार न्यायालयलाई समेत धम्क्याएर राज्यसंयन्त्रमाथि राजनैतिक नियन्त्रण जमाउन उद्त रहेको बताएका हुन् । 
सरकारका हस्तक्षेपकारी क्रियाकलापको सशक्त प्रतिकार गर्न संगठनलाई सुदृढ, मजबुत र बलियो बनाउन उनले महिला संघलाई निर्देशन दिए । 

आर्थिक कार्यविधि विधेयक पारित– प्रदेश नम्बर ४ को मन्त्रिपरिषदको बैठकले आर्थिक कार्यविधि विधेयक पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले आर्थिक कार्यविविधि विधेयक २०७४ पारित गरेको हो । 
विधेयक शुक्रबार प्रदेशसभामा टेबल हुनेछ । संसद बैठकले कार्यविधि पारित गरेसँगै प्रदेशको बजेट ल्याउन बाटो खुल्नेछ । 
यसैबीच, प्रदेश नम्बर ३ को मुख्य न्यायाधिवक्तामा सूर्यचन्द्र उपाध्याय न्यौपाने नियुक्त भएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश सरकारको सिफासिरमा बरिष्ठ अधिवक्ता न्यौपानेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेकी हुन् । 


प्रधानमन्त्री ओली– प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको अबको कार्यसूची आर्थिक समृद्धि र विकास भएकाले राष्ट्रिय संकल्पका साथ सरकारको ध्यान त्यसैतर्फ केन्द्रित भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले व्यापार असन्तुलन घटाउने र वैदेशिक लगानीका निम्ति आकर्षक एवं उपयुक्त वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे । 
आर्थिक विकास, मानवाधिकार, प्रवद्र्धन, समतामूलक समाज निर्माण, सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलता आफ्नो सरकारको लक्ष्य हुने उनको भनाइ छ । 

कलाकार रोमा न्यौपाने पक्राउ– ठगी अभियोगमा कलाकार रोमा न्यौपाने पक्राउ परेकी छन् । उनी विभिन्न कार्यक्रममा एक खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चा बटुल्न सफल हुँदै आएकी थिइन् । 
प्रहरीले न्यौपानेलाई ठगी गरेको अभियोगमा राजधानीको महाराजगन्ज क्षेत्रबाट पक्राउ  गरेको जनाइएको छ । न्यौपाने र उनका श्रीमान चिरञ्जीबीले  संस्था खोलेर विभिन्न व्यक्तिसँग ३६ लाख बढी ठगी गरेको प्रहरीले जनाएको छ ।

विद्यालय स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै– आगामी चैतभित्र जिल्ला शिक्षा कार्यालय खारेज हुँदैछन् । योसँगै विद्यालय स्रोत केन्द्रहरू पनि स्वतः निष्क्रिय हुँदै छन् । विद्यालय स्रोत व्यक्तिका रूपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । 
संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेको संयन्त्र मानिने स्रोत केन्द्र निष्क्रिय हुन पुगेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत साता शिक्षा मन्त्रालयलाई पत्र पठाई काज फिर्ता गर्न आग्रह गरेपछि स्रोत व्यक्ति आन्दोलित हुन पुगेका छन् । 

नेपालको दोस्रो हार– विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । 
नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २–२ तथा  ललित राजवंशी र  दिपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।
 
झापा गोल्डकप फुटबल– त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीले अब शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक टोली झापा–११ र थ्रीस्टार क्लब भिड्ने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्