१५ असार २०८३, सोमबार

मन्त्रिपरिषद् बैठकले पूर्णता पाउन सकेन, नयाँ मन्त्रीको शपथ राष्ट्रपतिको निर्वाचनपछि !

फागुन २५, २०७४
मन्त्रिपरिषद् बैठकले पूर्णता पाउन सकेन, नयाँ मन्त्रीको शपथ राष्ट्रपतिको निर्वाचनपछि !

काठमाडौं २५ फागुन–शपथ ग्रहण गरेको एक महिना पुग्नै लाग्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलाई पूर्णता दिन सकेका छैनन् । 

संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा ल्याउने प्रधानमन्त्रीको  प्रयासका कारण नयाँ सरकार विस्तारमा ढिलाई भएको छ । 

फोरमले सरकारमा सहभागि हुने औपचारिक निर्णय गरिसकेको छ भने राजपाले पार्टीमा छलफल गरेको छ । सरकारमा सहभागि हुन प्रधानमन्त्री ओलीले गरेको प्रस्तावप्रति सकारात्मक राजपाले उपराष्ट्रपतिसहित महत्त्वपूर्ण मन्त्रालय मागेको छ । 

फोरमले पनि उपसभामुख र केही महत्त्वपूर्ण मन्त्रालयमा दाबी गरेको छ । फोरमले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार हुने एमालेका एक नेताले बताए । शुक्रवार नै मन्त्रिपरिषद् विस्तारको तयारी रहेपनि सभामुखको मनोनयन र तयारी अभावका कारण आज मन्त्रिपरिषद् विस्तार नहुने एमाले स्रोतले बतायो ।

राष्ट्रपतिको निर्वाचन पछिमात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने एमाले स्रोतले बतायो । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुँदैछ । त्यसअघि शनिवार सभामुखको निर्वाचन, २७ फागुनमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम छ । 

आइतवार विश्वासको मतसहित दुईतिहाइको सरकार बनेपछि ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजपा सरकारमा सहभागि नभएपनि एमाले, माओवादी केन्द्र र फोरम सहभागि हुँदा दुईतिहाइ बहुमत पुग्छ । 
राजपा सरकारमा सहभागि भएमा मन्त्रालयको संख्या केही थपिन सक्ने एमाले स्रोत बताउछ । 

फागुन ३ गते राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिएका ओलीले पहिलो चरणमा दुई र दोस्रो चरणमा चार गरी ६ जना मन्त्री नियुक्त गरिसकेका छन् ।

प्रमुख सत्तासाझेदार माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीको सूची बुझाइसके पनि फोरमलाई समेत सहभागि गराउने भन्दै शपथ भएको छैन । 

सरकारले प्रधानमन्त्रीसहित १८ मन्त्रालय रहने निर्णय गरेको छ । वाम गठवन्धनका एमाले र माओवादीले क्रमश १० र ७ मन्त्रालय लिने सहमति गरेका छन् । तर फोरम र राजपासमेत सरकारमा सहभागी हुनेभएपछि दुई दलले पाउने मन्त्रीको संख्या घट्ने वा मन्त्रालयको संख्या थपिने भन्ने टुंगो लाग्न सकेको छैन । जसका कारण पनि मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छ । 

मन्त्री छान्ने सकस

केन्द्रमा प्रधानमन्त्रीसहित १८ मन्त्रालय मध्ये ओलीले ६ जना मन्त्री बनाएका छन् अब ११ जना मन्त्री थप हुने छन् । एमालेको भागमा परेको मध्ये अब ६ जना मन्त्री बन्न बाँकी छन् । जसमा आकांक्षीको संख्या धेरै भएपछि ओलीलाई पार्टीबाट मन्त्री चयनमा सकस परेको छ । 

उता सात मध्ये दुई मन्त्री पठाएको माओवादी केन्द्रमा पनि मन्त्रीका आकांक्षी धेरैभएपछि कसलाई पठाउने भन्ने समस्या पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई परेको छ । त्यसमध्येपनि फोरम र राजपालाई सरकारमा समावेश गर्दा मन्त्रीको संख्या घट्ने भएपछि ओली मन्त्रालयको विस्तार गर्ने वा नगर्ने भन्ने द्विविधामा परेका एमालेका एक नेताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्