०१ असार २०८३, सोमबार

मुख्य समाचार : सरकारमा सहभागी हुने मधेस केन्द्रित दलको तयारी, अफगानिस्तानलाई जित्नैपर्ने दबाबमा नेपाल

फागुन २६, २०७४
मुख्य समाचार : सरकारमा सहभागी हुने मधेस केन्द्रित दलको तयारी, अफगानिस्तानलाई जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं, २६ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दललाई सरकारमा ल्याउन प्रयास गरिरहेका छन् । संघीय समाजवादी फोरमले बैठक बसेर ओली नेतृत्वको सरकारका जाने निर्णय गरिसको छ । तर मन्त्रालयको विषयमा टुंगो नलाग्दा सरकारमा सहभागिता लम्बिएको छ । 
फोरमले उपसभामुखसहित तीन मन्त्रालयमा दाबी पेश गरेको थियो  । तर दुई वटा मन्त्रालय र उपसभामुखमा फोरम राजी भएको छ । प्रधानमन्त्री ओलीले अर्को मधेसवादी दल राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन् । त्यसका लागि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग प्रधानमन्त्री ओलीले विभिन्न चरणमा कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओलीले राजपाका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न समेत आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधन र ठाकुरलाई उपराष्ट्रपति दिन सकारात्मक रहेको स्रोतको दाबी छ ।
ठाकुर पनि त्यसमा सहमत देखिएका छन् तर पार्टीभित्रबाट निर्णय गराएर मात्र उनी उपराष्ट्रपति बन्न चाहन्छन् । उनले आफू निकटका नेताहरुलाई उपराष्ट्रपति बन्न आफू तयार रहेको बताउने गरेका छन् । राजपाले उपराष्ट्रपतिसहित दुई मन्त्रालयमा दाबी गरेको छ । 


राजपाको समर्थन भण्डारीलाई– राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए । 
उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्रसँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको हो । 
यसैबीच, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाललाई सरकारमा ल्याउने प्रयास भइरहेकाले मन्त्रिपरिषद् विस्तार राष्ट्रिपतिको चुनावपछि मात्र हुने भएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुँदैछ । त्यसअघि शनिवार सभामुखको निर्वाचन, २७ फागुनमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम छ । 
आइतवार विश्वासको मतसहित दुईतिहाइको सरकार बनेपछि ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।


महरा सभामुख बन्दै– प्रतिनिधिसभाको सभामुखमा नेकपा माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन् । सभामुखको निर्वाचनका लागि शुक्रबार भएको मनोनयन दर्तामा महराको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् । सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज हुने छ । माओवादी केन्द्रको बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 
तीन सांसदले लिए शपथ– सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित तीन सदस्यले शपथ लिएका छन् । अर्थ मन्त्रीसमेत रहेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्यालले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका हुन् । 
राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ खुवाइन् । सर्वोच्च अदालतको आदेशका कारण उनीहरुको शपथ रोकिएको थियो । 

काँग्रेसको बैठक चैत ९ मा– नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए । 
बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीले संसद्मा कस्तो भूमिका खेल्ने भन्नेबारेमा पनि बैठकमा छलफल हुने उनले बताए ।


कार्यदलको समय थप हुने– नेकपा एमाले र माओवादी केन्द्रको एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी एकता संयोजन समितिलाई सुझाव दिएको छ । माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल संयोजक रहेको कार्यदलको शुक्रबार बसेको बैठकले अन्तरिम विधानको मस्यौदामाथि दफाबार छलफल शुरु भएको र त्यसका लागि थप समय लाग्ने भएकाले समय माग गर्ने भएको हो ।
यही फागुन १० गतेको एकता संयोजन समितिको बैठकले १५ दिनभित्र अन्तरिम विधान र दुई पार्टीको संगठन एकताबारे खाका तयार गर्न कार्यदल गठन गरेको थियो ।


दोहोरो सुविधा लिन नपाइने– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता गर्ने भएको छ । गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सरकारी अनुदानप्राप्त लाभग्राहीको अलग अलग विवरण तयार पार्न जिल्ला समन्वय समितिको सचिवालयलाई पत्राचार गरिएको प्राधिकरणले जनाएको छ । 
गैरसरकारी संस्थाले किस्ता नदिई आवास पुनःनिर्माण गरेका वा एकीकृत बस्ती विकासअन्तर्गत अनुदान प्राप्त  लाभग्राहीले पनि सरकारी अनुदान लिएको भए  फिर्ता गरिने छ ।

पेट्रोलियम पाइपलाइनको काम शुरु– नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम शुरु गरेका  छन्  ।
पन्ध्र महिनाभित्र पाइपलाइन विस्तार गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले पाइप जोड्ने काम सकिएपछि जमीनमुनि पुर्ने काम गर्नेछन् । त्यसका लागि खाल्डो खन्ने यन्त्र भारतबाट ल्याउन लागिएको आयोजनाका प्रमुख शरदकुमार पौडेलले राससलाई बताउनुभयो । सो पाइपलाइन सिर्सिया नदीमुनिबाट लगिने बताइएको छ ।
    

मुख्य न्यायधीवक्तामा आचार्य– प्रदेश नं १ को मुख्य न्यायधीवक्तामा वरिष्ठ अधिवक्ता चुँडामणि आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले उनलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको सिफारिसमा आचार्यलाई शुक्रबार मुख्य न्यायधीवक्तामा नियुक्त गपरएको प्रदेश प्रमुख कार्यालयका उपसचिव गोपी घिमिरेले जानकारी दिए । 

इच्छा मृत्युलाई अनुमति– भारतको सर्वोच्च अदालतले निस्क्रिय इच्छा मृत्युलाई मान्यता दिने निर्णय सुनाएको छ । सर्वोच्च अदालतले व्यक्तिलाई ‘जीवन इच्छापत्र’का लगि अनुमति दिएको हो । 
व्यक्तिले आफूलाई ‘उपचार नहुने कोमा’को अवस्थामा पुगेमा कृतिम श्वास प्रश्वास कायम नगर्न पहिले नै कुनै कागज गर्न सक्छन् । यो निर्णय पाँच–सदस्यीय न्यायाधीशहरुको बेन्चले आज गरेको हो । 
गैरसरकारी संस्था ‘कमन कज’ले यो मुद्दालाई अदालतमा दायर गरेको थियो । ‘जीवन इच्छापत्र’ भन्नाले डाक्टरले कुनै विरामीलाई बचाउन सकिदैन भने पछि उसको श्वास मात्र राखेर बचाइराख्ने अप्राकृतिक तरिका विरामीले अस्वीकार गर्न पाउनुपर्छ भन्ने अधिकार हो ।


नेपाल र अफगानिस्तान भिड्दै– जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा शनिबार नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानको सामना गर्ने भएको छ । बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे नेपालले अफगानिस्तानसँग खेल्न लागेको हो । 
सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । 
नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ । 


झापा ११ फाइनलमा– घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले झापा गोल्डकपको फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा  पुगेको हो ।
निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो । शनिबार विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्