२७ जेठ २०८३, बुधबार

भारतीय गोलीले गोविन्द गौतम ढलेको १ वर्ष : छोरोको सालिक हेर्ने आमाको सपना अधूरै

फागुन २६, २०७४
भारतीय गोलीले गोविन्द गौतम ढलेको १ वर्ष :  छोरोको सालिक हेर्ने आमाको सपना अधूरै

कञ्चनपुर, २६ फागुन–गतवर्ष आजकै दिन, आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका थिए । 

शहीद गौतमको सम्झनामा आज उनकै घर छेउमै रहेको नमूना प्राविमा स्मृतिसभामा सहभागी शहीद गौतमकी आमा हरिदेवी गौतम निराश मुद्रामा देखिइन् । 

कार्यक्रममा शहीदको सम्मान र भूमिको रक्षार्थ गौतमले बलिदान दिएको चर्चा भइरहँदा शहीद गौतमकी आमाले भने वर्षदिन वितिसक्दा पनि सरकार र नेताबाट पाएको आश्वासन पूरा नभएकोप्रति दुखः व्यक्त गरिन् । 

‘घटनाका बेला आनन्द बजारमा छोरो(गोविन्द)को सालिक बनाउनेदेखि बुहारीलाई जागिर दिनेसम्मका आश्वान धेरै पाएँ,’ हरिदेवीले भनिन्, “न छोरोको सालिक बन्यो, न त बुहारीले जागिर नै पाइन ।” 

आनन्द बजारको मुख्य चोकमा सालिक बनाउन पुनर्वास नगरपालिकाले जग हालेको भए पनि सालिक बनाउने काम शुरु भएको छैन । 

‘सालिक बनाउने ठाउँमा धुलोले पुरिँदैछ,’ उनले भनिन्, “ढलेको ठाउँमा छोराको सालिक बनेको भए त्यै हेरेर बस्थेँ ।” घटनापछि सहानुभूति व्यक्त गर्न आउने सबै नेताहरुले आश्वासन बाँडेको उनको भनाईछ । 

‘सालिक हेरेर छोरो सम्झिने दिन कहिले आउला ?’ उनले भनिन्र, “तीन नातिनीहरुलाई यहाँका स्थानीय स्कुलहरुले भने निःशुल्क पढाएका छन ।” बुहारी लक्ष्मी गौतम (शहीद पत्नी) लाई तत्कालीन अवस्थामा नगरपालिकामा जागिर दिने भनिए पनि त्यो पनि हालसम्म पूरा हुननसकेको हरिदेवीले बताइन् । ‘नगरपालिकामा पनि अहिले ठाउँ छैन भन्ने गर्छन्,’ उनले भनिन्, “छोरो शहीद भएकाले मिलेको सहयोगले औषधि खानेदेखि परिवारको खर्च चलाएका छौं ।” 

त्यसैगरी सोही घटनामा सख्त घाइते भएर अपांग जीवन विताइरहेका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंले पनि आफ्नो भूमिका लागि लड्दा सरकारी तवरबाट खासै सहयोग नभएको बताए । 

‘घाइते भएका बेला सरकारले १९ दिन काठमाडौँमा औषधि उपचार बाहेक केही गरेन,’ उनले भने, “श्रीमती जागिर र छोरीहरुलाई पढाइखर्च मागेको भए पनि वास्ता गरिएन ।” अशक्त अवस्थामा रहेका चापागाईंले घटनापछि विभिन्न संस्था र व्यक्तिबाट करिब रु आठ लाख सहयोग मिलेको बताए । 

घटनापछि बन्द रहेको आनन्द बजार बसही नाका अझै सुचारु हुनसकेको छैन । घटनास्थल छेउ–छाउबाट भारततर्फ आवतजावत गर्दै सामान्य घरायसी समान किनमेल गर्न थालिए पनि नाका खोल्ने विषयमा पहल भएको देखिएको छैन । 

आनन्द बजार र सीमावर्ती भारतीय बसही बजारका व्यापारी नाका सुचारु गर्न सकरात्मक देखिका छन् । तर सुचारु गर्न पहल गरिदिने कोही नभएको आनन्द बजारका व्यापारी टीकादेवी मगर बताउनुहुन्छ । “नेता आउदा नाका खुल्छ भन्छन,” टीकादेवीले भन्नुभयो–“नाका नखुल्दा दुबै तर्फ व्यापार घाटा भएको छ ।” 

शहीदको सम्झनामा स्मृतिसभा 

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ आनन्द बजारमा गतवर्ष भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएका शहीद गोविन्द गौतमको सम्झनामा आज स्मृतिसभाको आयोजना गरिएको छ । 

गत फागुन २६ गते आजकै दिन आनन्द बजारमा रहेको स्थानीय खोलामा अस्थायी कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षकर्मीसितको विवादले उग्ररुप लिँदा गौतमले शहादत प्राप्त गरेका थिए । 

पुनर्वास नगरपालिका र शहीद गोविन्द गौतम सीमा संघर्ष समितिले संयुक्त रुपमा शहीद गौतमको प्रथम वार्षिक स्मृतिसभा आयोजना गरेका छन् । स्मृतिसभाको उद्घाटन समारोहमा बोल्दै प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा निर्माणमन्त्री पठानसिंह बोहरा नेपाल–भारतबीच हुने सीमा क्षेत्रका समस्याको समाधान दीर्घकालीन रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिए । 

‘यहाँको दक्षिण क्षेत्रमा सीमा सम्बन्धी धेरै समस्या छन्,’ मन्त्री बोहराले भने, “दुबै छिमेकी मिलेर समस्या समाधान गर्नुपर्छ ।” उनले सीमाक्षेत्रको सडक, सिँचाइ, खानेपानी लगायतको पूर्वाधार निर्माणका विषयमा प्रदेश सरकार योजनासहित अघि बढ्ने जानकारी दिए । 

प्रदेशसभा सदस्य तारालामा तामाङले शहीद गोविन्द गौतमको नाममा स्मृति प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिदैं शहीद गौतमको नाममा केही न, केही गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा शहीद गौतमका बुबा खिमलाल गौतम, आमा हरिदेवी गौतम र पत्नी लक्ष्मी गौतमलाई सम्मान गरिएको छ । त्यसैगरी सोही घटनामा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंलाई पनि सम्मान गरिएको थियो । 

–शेरबहादुर सिंह / रासस

salt training

कमेन्ट गर्नुहोस्