
काठमाडौँ, २६ फागुन - अभिनव साहित्य समाज जोरपाटीले मासिक साहित्यिक शृंखला एवं १७ औँ वार्षिकोत्सवको अवसर पारेर पाँचजना व्यक्तित्वलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्ण राई, क्षेत्र नं ३ प्रदेशसभा (क) का सदस्य रामेश्वर फुयाँल, पहिलो महिला नाटककार सावित्री पोखरेल हुनुहुन्छ भने वेदमणि अभिनव गजल पुरस्कारबाट ओखलढुंगाकी पुष्पा धमला र समाजकी पूर्वकार्यसमिति सदस्य भवानी सापकोटा अर्याललाई आज पुरस्कृत गरिएको हो । सांसदद्वय राई र फुयाँल समाजको आजीवन सदस्य हुनुहुन्छ ।
गजल पुरस्कारबाट पुरस्कृत धमलालाई समाजले वर्षको उत्कृष्ट गजलकारको सम्मान दिएको हो । पुरस्कारको राशि रु छ हजार रहेको छ । पुरस्कार एवं सम्मान प्रदान गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पछिल्लो मर्यादाक्रममा प्रतिष्ठानका प्राज्ञलाई छुटाइएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
“अब प्रतिष्ठानलाई संस्कृति मन्त्रालय मातहत नभई प्रतिनिधिसभाअन्तर्गत राखिनुपर्छ, सातवटै प्रदेशमा प्रदेशस्तरीय प्रज्ञाको स्थापना हुनुपर्छ”–उहाँले भन्नुभयो । सम्मानित सांसद राईले राजनीति र साहित्य फरक विषय भएपनि एक अर्कामा पूरक रहेको बताउनुभयो ।
“साहित्यले कुनैपनि विषयमा घच्घच्याउँछ, राजनीतिले त्यो विषय सुनी नीति निर्माण गरेर समस्या समाधान गर्छ”–उहाँले भन्नुभयो । प्रदेशसभा सदस्य फुयाँलले काठमाडौँ क्षेत्र नं ३ मा महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्वर्गीय साहित्यकारद्वय भैरव अर्याल र रमेश विकलको पूर्णकदको शालिक स्थापना गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा मासिक साहित्यिक शृंखलाको आयोजना गर्दै आएको समाजले आज आयोजना गरेको १९३ औँ कार्यक्रममा ४५ जना कवि एवं कवयित्रीले रचना पाठ गर्नुभएको अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिनुभयो । रासस