
काठमाडौँ, २६ फागुन - स्वास्थ्यमा समस्या देखिएपछि टीकापुर घटना गराएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त रेशमलाल चौधरीलाई आज काठमाडौँ ल्याइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीलाई हवाईजहाजबाट काठमाडौँ पठाइएको जानकारी दिए । उनलाई अहिले वीर अस्पताल भर्ना गरिएको छ |
चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीले गरेको सिफारिसबमोजिम काठमाडौँ पठाइएको हो ।
गएको छ दिनदेखि कैलाली कारागारमा रेशमसहित टीकापुर घटनाका २४ जना अभियुक्त अनशनमा बसेका छन् ।
चौधरी कैलाली निर्वाचन क्षेत्र नं १मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रेशमलालको स्वास्थ्यमा खनिज तत्वको कमी देखिएको पाइएपछि उनलाई काठमाडौँ लैजान सिफारिस गरिएको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा सजन केशीले बताए ।
आवश्यक ल्याब परीक्षण गर्ने सुविधा अञ्चल अस्पतालमा नभएकाले चौधरीलाई ‘रिफर’ गरिएको डा केसीले बताए ।
आज अचानक बिरामी भएर बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको थियो ।
चौधरीसहित टीकापुर घटनाका अभियुक्त २४ जनाले निर्वाचित सांसद चौधरीलाई विजयीको प्रमाणपत्र उपलब्ध गराई शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, थरुहटको मागलाई सम्बोधन गर्नु पर्नेलगायतका माग राखेर कैलाली कारागारमा अनशन थालेका थिए ।