
काठमाडौं, २७ फागुन — नेपाल, भारत, चीन र पाकिस्तानले चामत्कारिक गुण भएको औषधीय वनस्पति सीबकथोर्नमार्फत हिमालय क्षेत्रको आय वृद्धिका लागि हात मिलाएको छ ।
अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टका यी सदस्यहरूले हिन्दूकुश हिमालय क्षेत्रको ग्रामीण जनसंख्याको जीविका सहज बनाउन र जलवायु परिवर्तनका असरलाई न्यून पार्न यो कदम उठाएका हुन् ।
चीनमा हालै आयोजित एक बैठकमा पारस्परिक सहयोगका लागि एक सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
चार हजारदेखि १४ हजार फीटको उचाइँमा फल्ने यो वनस्पतिका फलहरूको औषधीय गुणका कारण यसलाई सञ्जीवनी बुटी मानिन्छ र अन्तर्राष्ट्रिय बजारमा यसको ठूलै माग छ । चारै देशले यसको उत्पादन बढाउने सम्झौता गरेका छन् ।
चीनले आफ्नो देशमा प्रयोग नहुने जमीनमा सीबकथोर्नको व्यापारिक उत्पादन गरेर, त्यसको फललाई प्रशोधन गरेर अनि जुस, चिया र पौष्टिक खाद्यपदार्थको बिक्री गरेर स्थानीयहरूको आयवृद्धिको मोडल तयार पारेको छ ।
यसका लागि वन विभागका अधिकारीहरू, वैज्ञानिकहरू, किसानहरू, खाद्य प्रशोधन कम्पनीहरू तथा विश्वविद्यालयहरूको एक समूह बनाइएको छ । तीस लाख हेक्टर क्षेत्रमा यसको उत्पादन तथा यसमा आधारित ५०० भन्दा बढी उद्योग स्थापनाको सफल प्रयोग गरेको छ ।
एजेन्सी