
काठमाडौं, २८ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । उनको विपक्षमा ६० मत परेको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रधानमन्त्री ओलीले प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये बैठकमा २६८ सांसद उपस्थित थिए । नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरे भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल निर्वाचन प्रक्रियामा सहभागी भएनन् । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर भएका कारण अनुपस्थित रहे ।
प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा ओलीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समर्थन गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन ३ गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
संसद्मा कसले के भने
प्रधानमन्त्री केपी शर्मा ओली– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता फाल्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत लिनेक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा नै गर्ने भएकाले अनावश्यक चिन्ता नलिन आग्रह गरे । जनताको जीवनमा परिवर्तन ल्याउने गरी वर्तमान सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धतामा कुनै पनि कमी नआउने उल्लेख गरे ।
माधवकुमार नेपाल– नेकपा (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताएका छन् । संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले भने, “युवा वर्गमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ, समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, विभेद, बेरोजगारीलगायत समाजमा व्याप्त विकृति हटाउन सरकारको काँधमा नयाँ जिम्मेवारी आएको छ ।”
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताए । उनले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गरे । इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न उनले आग्रह गरे ।
कांग्रेस नेता गच्छदार– नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताए । संविधानले प्रत्याभूत गरेका र प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि काम हुन नहुने भन्दै उनले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
महेन्द्रराय यादव– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएका माग सम्बोधन गर्न सार्वजनिक प्रतिबद्धता जनाउनु पर्ने बताए ।
सरिता गिरी– संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले राजनीतिक स्थिरतापछि जनताले सुशासन र समृद्धि चाहेको बताउँदै यसका लागि समाजवाद उन्मुख राजनीति र अर्थ व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताइन् ।
दोषीमाथि कारबाहीको माग– प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा सांसद्हरुले माग गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीमा बोक्सीको आरोपमा भएको ज्यादतिमा संलग्नलाई सरकारले सिधै कारबाही गर्नुपर्ने बताए । काँग्रेसका सांसद पुष्पा भुसाल र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले चौधरीमाथि भएको दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्न माग गरे ।
मानव अधिकार आयोगको माग– राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीकी राधा चौधरीमाथि बोक्सीको आरोपमा बिहीबार गरिएको कुटपिटमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा बोक्सीको आरोपमा कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र कुटपिट गर्ने अपराधमा संलग्नलाई कानूनबमोजिम तत्काल कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा अत्याधिक व्यक्तिको उपस्थितिमा एक जना १८ वर्षीया बालिकामाथि बोक्सीको आरोपमा निरन्तर र निर्घात तबरले छ घण्टासम्म कुटपिट गरिनु अत्यन्त क्रुर, अमानवीय र घृणित कार्य भएको उल्लेख छ । अनुगमनबाट प्राप्त तथ्यअनुसार पीडित चौधरीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको, पीडक पक्षबाट घटना सम्बन्धमा कहीँकतै उजुरी नदिन निरन्तर धम्की दिइएकाले पीडित परिवार मानसिकरूपमा त्रसित रहेको पाइएको आयोगले जनाएको छ ।
चैत २ गते उपसभामुखको निर्वाचन– प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उपसभामुखको मिति तोकेको हो ।
सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ ।
आर्थिक कार्यविधि विधायन समितिमा– प्रदेश नं ४ को प्रदेशसभा बैठकले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ । सभामा प्रदेश नं ४ का मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेको प्रस्ताव आइतबारको वैठकले सर्वसम्मतिले पारित गरेको हो । अर्को बैठक आगामी चैत ५ गते सोमबार १.०० बजे बस्नेछ ।
थप कार्यकालका लागि सीको बाटो खुला– चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति सी चिन पिङले कहिलेसम्म चीनको राष्ट्रपति बन्नुहुनेछ भन्ने सीमाअवधि संविधान संशोधनसँगै हटेको छ ।
गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो । उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि सम्भवतः अनिश्चितकालसम्म सत्तामा रहिरहन बाटो खोलिदिने विश्वास गरिएको छ ।
कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये दुई जनाले मात्रै विपक्षमा मत हालेका थिएभने तीन जना अनुपस्थित रहेका थिए । अरू देशको संसद जस्तै चीनमा नेशनल पिपुल्स कंग्रेस सबैभन्दा शक्तिशाली कानून बनाउने निकाय हो ।
दबाबमा नेपाल– विश्वकप क्रिकेट छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार हङकङसँग खेल्दैछ । आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ । हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव छ ।
विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’को पुछारमा छ । यो समूहबाट स्कटल्याण्ड र जिम्बाब्वे अघिल्लो चरण पुगिसकेका छन् । समान २–२ अंक भए पनि नेट रनरेटका आधारमा अफगानिस्तान तेस्रो र हङकङ चौथो स्थानमा छ ।
यदि नेपालले आज हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । नेपाल आफैं सुपर सिक्समा पुग्न चमत्कारिक खेल देखाउनुपर्छ । तर, एकदिवसीय मान्यता पाउन तथा घटुवा हुनबाट बच्न पनि नेपालले हङकङलाई हराउनुपर्छ ।