१५ असार २०८३, सोमबार

१७ प्रतिशत किशोरी आमा, छिटो बच्चा जन्माउँदा पाठेघरको मुखको क्यान्सर हुने खतरा

फागुन २८, २०७४
१७ प्रतिशत किशोरी आमा, छिटो बच्चा जन्माउँदा पाठेघरको मुखको क्यान्सर हुने खतरा

काठमाडौं, २८ फागुन– मुलुकमा १५ देखि १९ वर्ष उमेरका १७ प्रतिशत किशोरीहरू आमा बन्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यो दर सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी रहेको औंल्याएको हो । 

स्वास्थ्य मन्त्रालयका लागि ‘न्यु एरा’ ले गरेको सर्वेक्षणअनुसार किशोरावस्थामै गर्भवती हुनेमा सहरमा १३ र ग्रामीण क्षेत्रमा २२ प्रतिशत किशोरी छन् । सबभन्दा कम प्रदेश ३ मा १०, प्रदेश २ मा सबैभन्दा बढी २७ प्रतिशत किशोरी गर्भवती हुने गरेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागका वरिष्ठ डेमोग्राफर डा. शरद शर्माका अनुसार शिक्षाको स्तर बढदै जाँदा कम उमेरमै विवाह गर्नेको संख्या भने घटदै गएको देखिएको छ । अशिक्षित किशोरीमध्ये ३३ प्रतिशतले विवाहलगत्तै बच्चा जन्माउने गरेका छन् ।

एसईई (एसएलसी) भन्दा माथि शिक्षा पाएका ७ प्रतिशतले किशोरावस्थामै बच्चा जन्माउने गरेका छन् । कम उमेरमा बच्चा जन्माउनेमा अति गरिब, गरिब र मध्यम आर्थिक अवस्था भएकाको संख्या सम्पन्नको तुलनामा बढी सर्वेक्षणले औंल्याएको छ । ‘यो समस्या सबैतिर छ,’ स्वास्थ्य सेवा विभागकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पुण्या पौडेलले भनिन्, ‘त्यसमा पनि प्रदेश २ मा बढी हुनुमा त्यहाँ जनसंख्या बढी छ, छिट्टै विवाहगर्ने चलन छ, शिक्षाको कमी छ ।’

पौडेलका अनुसार चाँडै उमेरमा विवाह हुनेहरू बच्चा जन्माउने र हुर्काउनेबारे जानकार हुँदैनन्।, ‘शरीरका सबै अंगको पूर्ण विकास भइसकेको हँुदैन,’ उनले भनिन्, ‘कम उमेरमै आमा बन्दा बच्चा कसरी हुर्काउने भन्ने ज्ञान हँुदैन ।’ उनका अनुसार छिटोछिटो बच्चा जन्माउनेमा पछि पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर हुने खतरा बढी हुन्छ ।

सर्वेक्षणले प्रदेश २ मा किशोरी उमेरमै आमा बन्नेको संख्या बढी रहेको देखाए पनि यसले त्यसका कारण भने खुलाएको छैन । ‘हामीले यसबारे विश्लेषण गरिरहेका छौं,’ डेमोग्राफर शर्माले भने ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्