
काठमाडौं, २८ फागनु– थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई संयुक्त राष्ट्रसंघको ‘पर्मानेन्ट फोरम’ मा एजेन्डाका रूपमा उठाइने भएको छ । फोरमका दक्षिण एसिया उपाध्यक्ष फूलमान चौधरीले आगामी अप्रिल १६–२७ न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुने फोरमको बैठकमा टीकापुर घटनालाई गहन ढंगले प्रस्तुत गर्ने बताए ।
‘टीकापुरका थारूले संविधानअनुकूल आफ्नो मुद्दा उठाएका थिए,’ उनले भने, ‘सरकारले दबाउन खोज्दा गम्भीर घटना भयो । अहिले संगठित अपराधको मुद्दामा आदिवासी थारूलाई थुनामा राखिएको छ ।’
बैठकमा पक्ष राष्ट्र नेपालका तर्फबाट आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष, मन्त्रालयका सचिवलगायतको सहभागिता रहने जनाइएको छ । फोरमका दक्षिण एसिया उपाध्यक्ष चौधरी पनि बैठकमा हुनेछन् ।
बैठकमा पक्ष राष्ट्रहरूले वार्षिक प्रतिवेदन प्रस्तुत गर्छन् । कैलालीको टीकापुरमा २०७२ भदौमा भएको थरुहट÷थारूवान आन्दोलन र त्यसमा संलग्न आन्दोलनकारीको आक्रमणमा परी एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
घटनामा २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो । ५० भन्दा बढी सुरक्षाकर्मी र दर्जनौं आन्दोलनकारी घाइते भएका थिए । आन्दोलनको अगुवाइ गरेको आरोप खेपेका रेशम चौधरी हालै मात्र प्रतिनिधिसभामा निर्वाचित भए पनि यतिखेर थुनामै छन् ।, कान्तिपुरमा खबर छ ।