
काठमाडौँ, २८ फागुन- दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवा सुरु गरेको १४ महिनासम्म दुई सहरमा सीमित नेपाल टेलिकम अब भने यसलाई अझ रुपान्तरण गर्दै ‘एड्भान्स फोरजी’ सञ्चालनको तयारीमा जुटेको छ । नेपालमा हाल उपलब्ध फोरजीभन्दा निकै गुणस्तरीय सेवासहित आक्रामक बजारीरकण सुरु गर्ने टेलिकमको योजना छ ।
टेलिकमले कम्पनी र ग्राहक दुवैको रूपान्तरण हुने गरी एडभान्स फोरजी सेवा विस्तार गर्ने जनाएको छ । लामो समयको पर्खाइपछि देशभर एकैपटक विस्तार गर्ने लक्ष्यसहित एड्भान्स फोरजीमा टेलिकम जुटेको हो । अब टेलिकमले फोरजी सेवा विस्तार गर्दा जहाँ कुनै पनि सेवा पुगेको छैन, त्यस्तो ठाउँमा सिधैं एड्भान्स फोरजी सेवा विस्तार गर्नेछ ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अहिलेसम्म नेपालमा भएको फोरजीभन्दा नयाँ प्रविधि भएको र डाटा तथा भ्वाइसमा उच्च गुणस्तरको सेवा दिनसक्ने गरी फोरजी सेवा ल्याउन लागिएको जानकारी दिइन्, कारोबार दैनिकमा खबर छ ।